कार्यकर्ता पोस्न एकै दिन आठ अर्व बढी निकासा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कार्यकर्ता पोस्न एकै दिन आठ अर्व बढी निकासा


प्रशासन विशेष ब्युरो

७ असार २०७४, बुधबार


काठमाडौं । शेर वहादुर देउवा प्रधानमन्त्री भएपछि सरकारले एकै दिन आर्थिक सहायता वापत ८ अर्व ७१ करोड ६२ लाख १० हजार रुपैया निकासा गरेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मुखैमा सरकारले निर्वाचन आचार संहिता विपरीत त्यति धेरै रकम विभिन्न जिल्लामा पठाउने निर्णय गरेको हो ।

मनाङ र मुस्ताङ वाहेक अन्य सवै ७३ वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयले वितरण गर्ने गरि करोडौं रकम पठाईएको छ । अर्थ मन्त्रालयले केहि समय अघि मात्रै सो रकम शान्ति तथा पुर्ननिर्माण मन्त्रालयलाई पठाएको थियो ।

१० वर्षे द्धन्द्धमा मारिएका मृतकका परिवारलाई राहत स्वरुप ६ अर्व ५१ करोड, ९० लाख र सो द्धन्द्धमा विस्थापित भएकालाई १ अर्व ४४ करोड १५ लाख २५ हजार रुपैया वितरण गर्ने निर्णय भएको शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले जनाएको छ ।

१० वर्षे द्धन्द्धमा विस्थापित भएकाहरु शान्ति प्रक्रिया सम्पन्न भएपछि घर फर्केर शान्तपुर्ण जीवन विताइरहेपनि झण्डै ८२ हजार विस्थापितलाई सरकारले १ अर्व ४४ करोड १५ लाख २५ हजार दिने निर्णय गरेको हो ।

निर्वाचन आयोगले निर्वाचनपछि मात्रै सो रकम वितरण गर्न निर्देशन दिएको थियो तर शान्ति तथा पुर्ननिर्माण मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले आयोगको निर्देशनलाई लत्याउदै अरबौं रुपैया जिल्ला पठाउने निर्णय गरेका हुन् ।

शान्ति तथा पुर्ननिर्माण मन्त्रीको जिम्मेवारीमा प्रधानमन्त्री देउवा आफै छन् । प्रधानमन्त्री देउवाकै रुचि र चाहनामा सचिव ठाकुरले सो निर्णय गरेको स्रोतको दावी छ ।

शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्तर्गत रहेको राहत तथा पुनस्र्थापन इकाईका प्रमुख उपसचिव हरिकृष्ण ज्ञवालीले द्धन्द्ध पिडितलाई पठाइने रकम निर्वाचनपछि मात्रै पठाउनु पर्ने अडान राखेका थिए । त्यसरी अडान राखेपछि उनलाई मन्त्रालय सरुवा गरियो र अर्का एसम्यान उपसचिव देवराज जोशीलाई त्यहा पठाएर उनै मार्फत रकम पठाउने निर्णय सचिव ठाकुरले गराएका हुन् ।

५लाख थपेर १० लाख
सरकारले यस अघि नै १० वर्षे युद्धमा मारिएका तथा वेपत्ता भएका १३ हजार ४ सय २८ जनाका परिवारलाई राहत स्वरुप ५ लाख दिइसकेको थियो । त्यो रकमले अपुग भएको भन्दै मृतक तथा वेपत्ता भएका परिवारका आफन्तलाई फेरि सरकारले पाच लाख थप गर्ने निर्णय गरेको हो ।

विस्थापितलाई २५ –२५ हजार
शान्ति तथा पुर्ननिर्माण मन्त्रालयकै निर्देशनमा राहत पुर्नस्थापन इकाईले १० वर्षे युद्धको समयमा विस्थापित भएका ८२ हजारलाई २५ हजारका दरले रकम जिल्लामा पठाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस