३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“सकस” मा रमाउँदा

अ+ अ-

संसार एक नाट्यशाला र जीवन एक नाटक रहेछ । यस संसारमा सबैले केहि न केहि नाटक गरेर बाँच्नुपर्दो रहेछ जबसम्म जिन्दगीको महायात्रा सुरु हुँदैन । नाटक खेलिरहँदा समय बितेको पनि पत्तो नहुने रहेछ । भोग गरिरहेको बखत सम्झने फुर्सद पनि कहाँ हुन्छ र मानिसलाई ।

जीवनमा पहिलो पटक कृत्रिम रङ्गमञ्चमा आफूलाई प्रस्तुत गरेँ मैले पनि । जीवनमा एक फरक अनुभूति लिन पुगेँ । आखिर जीवन एक अनुभूतिहरूको सङ्गालो त रहेछ नि । त्यसैमा एक थुँगा फूल थप्ने काम भयो र्। सकस’ नाटकमा एउटा सफल नायिकाको भूमिका निर्वाह गर्न सक्नु मेरा लागि कम गौरबको कुरा पनि होइन । जीवन कहिले छोरी, कहिले बुहारी, कहिले श्रीमती बन्दै आमाको भूमिकासम्म निर्वाह गर्दै आइपुग्दा म सफल बन्न सकेँ वा सकिनँ तर जीवनमा पहिलो पटक सफल नायिकाको भूमिका भने सफलतापूर्वक सम्पन्न गरेँ । सकसमा एउटा छुच्ची र छुद्र स्वभावकी बुहारीको भूमिका निर्वाह गर्नु थियो मैले जुन मेरो स्वभावका लागि नितान्त निरपेक्ष थियो । करीब एक महिनाको कठोर अभ्यासपछि मैले सफलतापूर्वक यो भूमिका पूरा गरेँ जुन मेरा लागि नितान्त नवीन विषय बन्यो ।

नाटकमा मैले मेरा आदरणीय अग्रजद्वय गायत्री श्रेष्ठ र ऋद्धिचरण श्रेष्ठ (सासुससुरा) लाई अत्यन्तै हेला र छुद्र व्यबहार गरेर घरबाट निकाल्नु थियो । त्यति मात्र कहाँ हो र नढाँटी भन्नु पर्दा उहाँहरूलाई वृद्धाश्रमसम्मको यात्रा तय गर्नु मेरो अभीष्ट रहेको थियो त्यसका लागि मैले अनेक प्रपञ्च रच्नु त छँदै थियो यद्यपि त्यो काम साह्रै कठीन र अपमानजनक थियो मेरा लागि ।

सासुससुराको दूध पिउने रहरसमेत मारेर माइतीबाट ल्याएको कुकुरलाई मासु खुवाएर पाल्नु कतिसम्मको निर्दयी एवम् निष्ठुरी व्यवहार गर्नु थियो मैले त्यसमा । म कहिल्यै रङ्मञ्चमा नउत्रिएकीले यस्तो कठोर व्यबहार कसरी गर्न सकुँली र, म आफैँलाई पनि विश्वास लागेन त्यतिबेला तैपनि घोटिँदा–घोटिँदा नदीको ढुङ्गा पनि खिइन्छ भनेझैँ अभ्यासले मानिसलाई जस्तो पनि बनाउन सक्दो रहेछ । मैले जसरी पनि यो भूमिकामा सफलता हासिल गर्नु थियो किनकी मैले जस्तोतस्तो कलाकारहरूको साथमा अभिनय गरेकी थिइनँ । थुप्रै चलचित्रहरूमा सफलता हासिल गरेर राष्ट्रियरुपमा नै ख्याति कमाउन सफल चितवनका निधि अग्रज एवम् वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठ र चिवनकी अग्रज नारी साहित्यकार, तत्कालीन चिसाप अध्यक्ष, प्राध्यापक आदरणीय गायत्री श्रेष्ठ, वरिष्ठ गीतकार, चितवनका गौरव आदरणीय प्रेमविनोद नन्दन त्यसैगरी वरिष्ठ छन्दकवि गोविन्दराज विनोदी, रेशमलाल श्रेष्ठ, सरला जोशी, बालकृष्ण थपलिया, चिरञ्जीवी श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, प्रभात जोशी, शङ्कर श्रेष्ठ, कृष्ण पुरी, प्रेम श्रेष्ठ, उद्धव जोशी लगायत नाट्य निर्देशक दाइ पुष्प आचार्यजस्ता अग्रज कलाकारका साथमा थिएँ म ।

मैले उक्त नाटकमा मेरा सासुससुरा बन्नुभएका वरिष्ठ मानिसहरूलाई रातदिन रुवाएर घरबाट निस्कने बनाउनु थियो । ती अनमोल आँशुहरूले मलाई कति पिरोल्लान् भन्ने पनि लाग्यो मलाई । आँशुको मूल्य तिर्न सक्छु वा सक्दिनँ भन्ने चिन्ता पनि लाग्यो । सासुले एक लिटर दूध माग्दा झर्कोफर्को गदै “छोराको तलव कति छ भन्नुस् त ? त्यतिले त घरको कुकुर पनि पालिँदैन । सबै मैले माइतीबाट ल्याएर घर चलाएकी छु । बिहानबेलुका दालभात खान दिएकै छु, त्यतिले चित्त बुझाउनुहोस् ।” भन्दा मेरो सासुससुराप्रतिको दायित्व शून्यमा पुगेको अनुभूत हुन्थ्यो । त्यतिबेला उहाँहरूको त्यो निभ्नै आँटेको बत्तिजस्तो अनुहार हेरेर सारा दर्शकहरूले मलाई काँचै खाउँलाझैँ गरेर हेरे अरे । मनमनै लाग्यो यतिका दर्शकले मलाई कुन रुपमा चिन्लान् ? यस्ति छुच्चीले त घरमा आफ्नी सासुलाई पनि त्यस्तै गर्छे होला भन्ने पनि लाग्यो होला कसैलाई त ।

अभिनयकै क्रममा सासुले भन्नु भयो, “ए बाबु ! बरु बालाई यस्सो बिहानबेलुका घुमाइदे न………… ।” आफ्नो कुरा सक्न भ्याउनु भएकै थिएन उहाँले फेरि बाँस चिरिएको जस्तो आवाजमा म चर्किन थालिहालैँ— “अहँ ! उहाँले त भ्याउनुन्न बिहान बेलुका त कुकुरलाई डुलाउनु पर्यो नि, यसलाई ट्वाइलेट लैजानै पर्छ । बाबालाई घुमाउन त हजुरले पनि सकिहाल्नु हुन्छ नि !” मेरो कर्कस ध्वनि सुनेर उहाँहरू दुबै जना मुखामुख हेर्न लाग्नु भयो । हैन, आजकल यो बुहारी कतिविधि उम्लिएकी हो ? सबै उसैको माइतीले पुर्याएजस्तो भन्ने पनि लाग्यो होला उहाँहरूलाई । हुन पनि मेरो व्यवहार अतिसय निच र छुद्र थियो । म भित्रको दया, करुणा अनि पितृत्वको भाव शून्यमा बिलाएको थियो । म हृदयविहीन भएकी थिएँ । दुई/दुई ओटा छोराकी आमा भए पनि आफू भोलि सासु बन्नु पर्छ भन्ने चेतना कत्ति पनि थिएन मलाई ।

अझ आश्चर्य लाग्ने कुरा त अर्को पो छ । मैले त्यतिविधि झर्कोफर्को गरेर चित्त दुखाउँदा पनि उहाँहरू मप्रति कति सकारात्मक ! मेरो श्रीमानका बारेमा अनुसन्धानात्मक लेख तयार पार्नका लागि घरमा सोधपुछ गर्न आएका मान्छेसित मेरो प्रशंसागान गाएर मलाई यति आदर्श बुहारीका रुपमा चिनाउनु भयो कि ती नवआगन्तुक समेत छक्क परे । संवादका क्रममा उहाँहरूले भन्नुभयो, “बुहारी त झन् सीताजस्तै छन्, यस्ता छोराबुहारी पाउन त भाग्यमा लेखेरै ल्यउनु पर्छ बाबु ।” आफूले निच व्यवहार गरेपछि घरमा कोही आउँदा पनि निकै डर लाग्ने । यतिबेला पनि खुट्टा थरर काँपेकै थियो । म पनि अरूका अगाडि जाती बन्न त निकै सिपालु नि फेरी । घरमा कोही आए भने हत्त न पत्त फलफूल र दूध टक्र्याइ हाल्थे अनि चरणमा परेर बाबुआमाको महत्वका बारेमा जानाकार गराउन अघि सर्थे त्यसपछि त कसले मलाई नराम्रो सोच्ने ।

नाटकको अन्त्यमा मभित्र पश्चातापको दावानल दन्किएको थियो । हुन पनि त्यस्तो देख्नु र सुन्नु पर्ला भनेर मेरो यो साँघुरो दिमागले कहाँ सोच्यो र ! सासुससुराको पचास वर्षको वैवाहिक वर्षगाँठ धुमधामसँग मनाउने अनि त्यसको भोलिपल्ट वृद्धाश्रममा पुर्याउने श्रीमानसँगको सहमति अनुसार ढुक्क बनेकी म विवाहोत्सव मनाउँन नपाउँदै बुबाआमाले एकैसाथ घरको आँगनमा प्राण त्याग गर्नु भयो । घरमा उपहार र माला बोकेर आएका छरछिमेकी, इष्टमित्र सबैले पार्थिव शरीरमा माला लगाउँदै हामी दुबैलाई नराम्रोसँग थुरेर पनि गए । त्यस घटनाले गर्दा म पानी–पानी भएँ, कसैको अनुहारमा हेर्न सक्ने सामथ्र्य म मा रहेन । म नराम्ररी समाजका अगाडि अपमानित भएँ । मैले अत्यन्त श्रद्धा गर्र्दै घरमा पुजेर राख्नु पर्ने ती सासुससुरालाई घरबाट निकालेर वृद्धाश्रम पुर्याउन खोज्ने मेरो दुष्प्रयास साँच्चै नै निन्दनीय थियो । वास्तविक जीवनमा कसैका छोराबुहारीलाई पनि यस्तो दुर्मति नपलाओस् । समयचक्र घुम्दै जाँदा आफू पनि त्यो स्थानमा पुग्नुपर्छ भन्ने चेतना सबैमा जागोस् भन्ने पनि लाग्यो ।

साहित्य भनेको समाजको दर्पण हो । यसले समाजलाई प्रतिबिम्बित पार्नु पर्छ । हाम्रो नाटकको अभिप्राय नै सामजिक चेतना जगाउनु थियो । कुनै पनि घरमा वृद्ध बाबुआमा सम्मानित भएर बाँच्न पाऊँन् । उनीहरूको आँशुले बाटो भिजाउँदै वृद्धाश्रमतर्फको यात्रा तय नगरियोस् । अनि उनैका सन्ततिहरूले असल संस्कार सिकेर वृद्ध अभिभावकहरूको सम्मान गर्न जानून् र एउटा सभ्य समाजको निमार्ण होस् भन्ने ध्येयले तयार पारिएको यो नाटकको दृश्यावलोकन् गर्न उच्च ओहोदाका मानिसदेखि लिएर सर्वसाधरण सबैको भिड लागेको थियो ।

यस्तो अभीष्ट लिएर मञ्चन गर्न लागिएको सकस नाटक पहिलो पटक २०७० साल माघ १० गते सभ्य र भव्य रुपमा प्रर्दशन भयो । अहो ! नारायणी कला मन्दिरको हल खुट्टा टेक्न नमिल्ने गरि खचाखच भरिएका थियो । बस्ने ठाउँ नपुगेर कतिले झ्याल र ढोकामा उभिएर हेरे भने कति त्यहि ठाउँ पनि नपाएर निराश हुँदै घरतर्फ फर्के भन्ने पनि सुनियो । दर्शकको अकल्पनीय उपस्थितिले मलाई थप उत्साहित बनाएको थियो ।

विहानीले दिनको सङ्केत गर्छ भनेझैँ पहिलो पटकको प्रदर्शनले नै नाटकको गरिमालाई उच्च बनाएको थियो । यसले पक्कै पनि राष्ट्रियरुपमा सम्मान पाउँछजस्तो मलाई त्यतिबेला नै लागेको थियो । नाटक सकिने बेलामा दर्शकका आँखाभरि आँशु थिए रे । कोही त थामिनै नसकेर घुँक्कघुँक्क आवाज पनि निकालेका । कोही त मलाई गाली गर्दै पनि थिए भन्ने सुनियो । यसबाट यस्तो लाग्यो कि के म पनि साँच्चै कलाकार बनेछु त ! हाम्रो नाटक प्रदर्शनका लागि दोश्रो पटक पनि माग भयो । दुई÷दुई पटकसम्म रङ्गमञ्चमा उत्रेपछि मेरो आत्मबल पनि बढिसकेको थियो । प्रशंसाले आत्मबल चुल्याउँदो रहेछ भन्ने पनि बुझेँ मैले । शिक्षक पेसा छाडेर अभिनयतिर लागे कस्तो होला भन्ने नवीन कल्पना पनि उम्रियो मभित्र ।

यस्तैमा करीब एक वर्षपछि काठमाण्डौमा नाट्यकला प्रतिष्ठानले गर्न लागेको राष्ट्रिय नाट्य महोत्सवमा हाम्रो नाटक छनौटमा परेछ जुन हाम्रो साथै समग्र चितवनकै लागि गौरबको कुरा थियो । यसै सन्दर्भमा म एउटा फरक पहिचान बोकेर काठमाण्डौतर्फ हानिँदै थिएँ । २०७२ साल वैशाख ६ गते नाटक प्रर्दशन गर्ने हेतुले हाम्रो टोली वैशाख ५ गते नै बडो उत्साहका साथ कलामन्दिरबाट सगुन लिएर काठमाण्डौतर्फ प्रस्थान गर्यो । अग्रजहरूको साथ लागेर यात्रा गर्दा छुट्टै खालको गर्वीलो अनुभूति भइरहेको थियो । निकै उत्साह र उमङ्ग बोकेर आफूलाई राष्ट्रिय रुपमा परिचित गराउने महान अवसरमा जुटिरहेकी थिएँ म ।

समय कहिलेकाहिँ आफैँ पनि हर्षोल्लास बोकेर आउँदो रहेछ । प्रज्ञाप्रतिष्ठानको त्यो भव्य हलमा हाम्रो नाटक प्रदर्शन हुन लागेको थियो । मेरो मन त्यसैत्यसै मयूरले प्वाँख फिँजाएर नाचेझैँ उमङ्गले नाचिरहेको थियो । त्यस महोत्सवको उद्घाटन तत्कालीन प्रधानमन्त्री श्री वामदेव गौतमबाट भएको थियो । वरिष्ठ व्यक्तित्व तथा अग्रज कलाकारको उपस्थितिले कार्यक्रमको शोभा बढाएको थियो । हाम्रो नाटक हेर्न भनि राष्ट्रिय कलाकारहरू हरिहर शर्मा, शम्भुजित बास्कोटा, सरुभक्त लगायत थुप्रै व्यक्तित्वहरूको सहभागिता थियो । उहाँहरूको उपस्थितिले नै हाम्रो कार्यक्रमको गरिमालाई उचाईमा पुर्याएको थियो । भोलिपल्ट काठमाण्डौबाट प्रकाशित सबै पत्रपत्रिकाले तस्विरसहित नाटकको चर्चा निकै आकर्षक ढङ्गले गरे ।

मलाई एक सफल कलाकारको रुपमा रङ्गमञ्चमा उभ्याउनुमा नाट्यनिर्देशक पुष्प आचार्य दाइको विशेष भूमिका छ । नाटक खेल्नुभन्दा एक महिना अगाडि उहाँले फोन गर्नुभयो, “बहिनी ! हामीले एउटा नाटक मञ्चन गर्न लागेका छौँ तपाइँले नायिकाको भूमिका निर्वाह गर्नु पर्यो ।” म दोधारमा परेँ । एउटा फरक अनुभूति लिन पनि रहर जागेर आयो । जीवनमा जति बाँचिन्छ रमाएरै बाँच्नु पर्छ । नश्वर शरीरको के ठेगान, आज छ भोलि नहुन पनि सक्छ तर रमाउनका लागि जीवनमा माया, ममता, हौसला, प्रेरणा पनि त चाहिन्छ नि ! के नाटकमा जस्तै वास्तविक जीवनमा पनि पाउन सकिन्छ त ? पाउन सक्ने हो भने कति जाती हुन्थ्यो होला । जीवन त सुखदुःखको सङ्गम हो । सधैँ रमाएर बाँच्न पाउने मानिस साँच्चै भाग्यमानी नै कहलिन्छ । यस्तो मौका विरलैले पाउँछन् । जे होस् सकसमा म रमाएँ । मेरो जीवनले नवीन अनुभूति सङ्गाल्यो । जुन मेरो जीवनको कहिल्यै नमेटिने क्षण बनेर दिलको किताबमा स्वर्ण अक्षरले कोरिएको छ । सम्झना आउँदा कहिलेकाहिँ पल्टाएर हेर्नै गर्छु म ।

प्रतिक्रिया दिनुहोस