‘वान बेल्ट वान रोड’ अवधारणापत्रमा हस्ताक्षर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘वान बेल्ट वान रोड’ अवधारणापत्रमा हस्ताक्षर


प्रशासन विशेष ब्युरो

२९ बैशाख २०७४, शुक्रबार


काठमाडौं । ‘वान बेल्ट वान रोड’ अवधारणामा चीन र नेपालले हस्ताक्षर गरेका छन्। परराष्ट्र सचिव शंकरदास बैरागी र चिनियाँ राजदूत यु होङबीच शुक्रबार काठमाण्डौंमा हस्ताक्षर भएको हो।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चीनसँग ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको सहभागिता सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने औपचारिक निर्णयपछि चीनले अघि सारेको सो प्रस्तावमा हस्ताक्षर भएको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा अघि सारेको यो अवधारणामा केही समयअघि चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गर्ने बचन दिएका थिए। दक्षिण एसियाबाट यसअघि श्रीलंका, बंगलादेश, पाकिस्तान सदस्य भइसकेका छन्।

‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर भएसँगै चीनसित सीमापार रेल, राजमार्ग, बिद्युत् प्रसारण लाइन, बिशेष आर्थिक क्षेत्र, विमानस्थल, सुख्खा बन्दरगाह, उद्योग, जलबिद्युत् परियोजना, औद्योगिक प्रबिधि, पार्क लगायत भौतिक पूर्वाधार निर्माणमा दुई देशबीच सहकार्य हुनेछ।

चीनको लगानीमा स्थापित एसियाली लगानी तथा पूर्वाधार बैंक र सिल्क रोड फन्डमार्फत् नेपालमा चीनले लगानी गर्नेछ। यससँगै नेपाललाई चीन हुँदै तेस्रो मुलुकसँग पारवहन ब्यापार गर्न समेत सहज हुने छ।

दक्षिणी छिमेकी मुलुक भारतले हस्ताक्षर नगरेको यस अवधारणामा नेपालको समर्थनलाई चीनले निकै महत्वका साथ लिएको थियो । जसका कारण नेपालले पनि आनाकानी गरेको आशंका गर्ने गरिएको थियो ।

 

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस