बिस्केट जात्रा सम्पन्न « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बिस्केट जात्रा सम्पन्न


प्रशासन संवाददाता

६ बैशाख २०७४, बुधबार


भक्तपुर । नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा मंगलवार सम्पन्न भएको छ ।
विक्रम संवत्अनुसार सौरमासका आधारमा चल्ने जात्रा नववर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी मंगलवार रथ तानेर सम्पन्न भएको हो । गत चैत २८ गते तौमढीबाट साँझ ५ बजेदेखि भैरवको रथ तानेर सुरु भएको जात्राका अवसरमा मंगलवार साँझ पनि ५ बजे नै गःहिटीबाट स्थानीयवासीले रथ तानेका थिए । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई परम्परानुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले तानेका छन् ।

रथ तान्ने क्रममा रथको पाङ्ग्रा अड्याउने भाग भाँचिएपछि रथ गुड्न नसक्ने अवस्थामा गःहिटीमै अड्किएको छ । रथबाट भैरवको मूर्तिलाई तान्त्रिक विधिअनुसार द्यो छेँ अर्थात् देवता घरमा भित्र्याइएपछि जात्रा सम्पन्न हुने परम्परा छ । रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुन सक्ने भएकाले जात्रा सञ्चालन हुने क्षेत्रमा एक हजार एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस