राष्ट्रपति भण्डारीसँग भारतीय नेताहरुले भने– निर्वाचनमार्फत नेपाल स्थिरतातर्फ जाओस् « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रपति भण्डारीसँग भारतीय नेताहरुले भने– निर्वाचनमार्फत नेपाल स्थिरतातर्फ जाओस्


प्रशासन संवाददाता

४ बैशाख २०७४, सोमबार


नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा सोमवार भारतको राजधानी आइपुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय राष्ट्रपति भवनमा भारतका विभिन्न राजनीतिक दलका नेताले भेट गरेका छन् ।

भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा सोमवार अपराह्न यहाँ आइपुगेकी राष्ट्रपति भण्डारीसँग नयाँ दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवाल, भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी) का महासचिव सीताराम यचुरी, राष्ट्रवादी काँग्रेस पार्टीका महासचिव डिपी त्रिपाठी र जनता दल(युनाइटेड)का शरद यादवले अलग अलग भेट गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो भारत भ्रमणले दुई निकट छिमेकी देशबीचको सम्बन्ध अझै प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्दै नेपालमा लोकतन्त्र संस्थागत गर्न भारत र भारतीय जनताको हिजोका दिनमा जस्तै सहयोग र शुभेच्छा रहने अपेक्षा गरिन् ।

राष्ट्रपति भण्डारीसँगको भेटमा नेताहरुले नेपालमा शान्ति, स्थिरता र विकासमा आफूहरुको सदैव सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । उनीहरुले नेपालमा लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचनमार्फत संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिएका र यसमा आफूहरुको सदैव शुभेच्छा रहेको पनि बताएका थिए । भारतीय नेताहरुले नेपालमा अझै पनि स्थिरता, विकास र लोकतन्त्रको संस्थागत विकास हुन नसकेकामा चिन्ता व्यक्त गर्दै निर्वाचनमार्फत मुलुक स्थिरतातर्फ जाओस् भन्ने कामना गरेका थिए ।
राष्ट्रपतिसँगको भेटपछि भाकपा(माक्र्सवादी)का महासचिव यचुरीले नेपाल संविधान निर्माणपछि यसको कार्यान्वयनको ऐतिहासिक मोडमा रहेका बेला राष्ट्रपतिको ठूलो जिम्मेवारी रहेकाले चुनावमार्फत संविधान कार्यान्वयन होस् र आधुनिक नेपाल विकासको मार्गमा अगाडि बढोस् भन्ने आफूले शुभकामना व्यक्त गरेको बताए ।

यसअघि राष्ट्रपति भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका महिला तथा बालविकास मामिला राज्यमन्त्री कृष्णाराज, भारतीय विदेश मन्त्रालयका शिष्टाचार महापाल सञ्जय बर्मा, नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीलगायतले स्वागत गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस