राष्ट्रियभन्दा जातीय र क्षेत्रीय भावना ल्याउन खोजियोः अध्यक्ष ओली « प्रशासन
Logo २३ मंसिर २०८०, शनिबार
   

राष्ट्रियभन्दा जातीय र क्षेत्रीय भावना ल्याउन खोजियोः अध्यक्ष ओली


प्रशासन संवाददाता

२० चैत्र २०७३, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा राष्ट्रिय भावनाभन्दा जात, भूगोल र क्षेत्रको भावना ल्याउन खोजिएको बताएका छन् ।

समसामयिक अध्ययन केन्द्रले आयोजना गरेको ‘वर्तमान संविधान र राष्ट्रियता’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले जात, भूगोल, क्षेत्रको भावना ल्याउन खोजिएकाले अहिले राष्ट्रियता चाहिएको बताए ।

उनले राष्ट्रियताका सवालमा कसैसँग कुनै पनि किसिमको सहमति गर्न नसकिने भन्दै सबै दल राष्ट्रियतामा एकमत भएर लाग्नुपर्ने बताए।

राष्ट्रियता अहिले जनतामा देखिएको बताउँदै उनले राष्ट्रिय हितभन्दा दलीय हितलाई माथि राखेर राजनीतिक दलले काम गरिरहेको आरोप समेत लगाए ।

उनले देशमा कानुनको शासन नभएकाले देशमा समस्या बल्झिएको भन्दै कानुनी शासन चल्ने हो भने दुई वर्षभित्रमा देशको समस्या समाधान हुने दाबी गरे ।
‘‘कानुनी शासन नभएकाले देशमा जसले जे गर्न पनि छुट पाएकाले देशमा समस्या भएको छ”, उनले भने– “तीन तहको निर्वाचन गराएर संविधान कार्यन्वयनमार्फत कानुनी शासन लागू गर्नुपर्दछ ।” उनले तीनै तहको निर्वाचन गरेर लोकतन्त्र, कानुनको शासन र छिमेकीसँगको सन्तुलन कायम गर्ने धारणा राखे ।
एमाले उपाध्यक्ष भीम रावलले केही तत्वले देशमा जात अनुसारको राष्ट्रियताको कुरा उठाएर देशलाई साम्प्रदायिकतातर्फ धकेल्न खोजेको आरोप लगाए । रासस

प्रतिक्रिया दिनुहोस