खाली बरण्डा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

खाली बरण्डा


१९ चैत्र २०७३, शनिबार


बिचरी मानमती काठमाण्डु तिर बस्ने खड्का डिएसपीको घरको बराण्डामा सुतेको अवस्थामा मृत भेटिईन । उनी बस्ने ठाउँ यदि एकान्त हुन्थ्यो र उनको लास अझैं ढिलो गरि भेटिएको हुन्थ्यो भने दुर्गन्धित, किरा परेको या मारेर सुकाईएको अवस्थाको माछा या सुकुटीको नियति भोग्न बाध्य हुन्थो होला ।

एकाबिहानै व्यूँझेर चियापसल अगाडि उभिई चिया माग्ने उनी त्यसदिन दिनभरी चिया पसल अगाडि देखिईनन् । त्यसैले राम सिंह साहुजी कि बुढी तारा, मानमतीको आश्रयस्थलसम्म पुगिन् र बोलाउन थालिन् । तारा घरमा मीठो मसिनो पाकेको दिन मानमतिको भाग छुट्याउन बिर्सदैनथिन् । तारा जति कराए नि मानमती उठिनन्, व्यूँझिनन् । सुतेकी अवस्थाको त्यो डरलाग्दो मौनताले चिया पसलवाला राम सिंह कि बुढीको मन तर्सियो उनी हड्बडाईन् । सडकमा हिडिरहेका टोलतिरका बटुवाहरुलाई मानमतिको अवास्थाका बारेमा आँत्तिएर भन्न थालिन् ।

एकजना सज्जन दयालु बटुवाले मानमतिको मुख छोपिने गरि ओढेको सिरक घाँटीसम्म तल तानेर हेरे । तल र माथिका दाँतले जिब्रो टोकिएको थियो । बिचरीले कुनबेला राति अन्तिम स्वास फेरिन् ? कठै ! बिचरी राति पानी–पानी भनेर कतिबेरसम्म याचना गरिहुन् । त्यो अन्तिम रात सौतेला आफन्तहरुले गरेको परित्यागलाई कसरी आत्मसाथ गरिहुन्, सायद सरापी हुन्, या क्षमा दिईहुन् ? आफ्ना छोरा–छोरी नहुनुको पीडा या पश्चाताप के भयो होला उनलाई ? सन्तान विहीन एकल वृद्ध महिलाहरु जो सौतेला सन्तानहरुको संरक्षणमा सुखी थिए तिनीहरुलाई सम्झेर आफ्नो नियतिलाई धिक्कारे होलिन् कि ? ‘जिउँदो छदा जन्ती मरे मलामी’ भन्ने हाम्रो मानवीय भावले देखाएको कठोर पक्षपातप्रति के सोच्न बाध्य भैइहोलिन, त्यो अन्तिम रात ? टोलमा अरु बिरामी हुँदा प्रत्येक टोलवासीले भेटेको र आफुले नि फलफुल लगिदिएका दिनहरु कठै ! बिचरी कसरी स्मरण गरी हुन् ? सगोत्री भनिएका आफन्तहरुका लागि धेरैसँग उनले झगडा गरेकी थिईन्, बाझेकी थिईन । कोही काम लागेन । बरु आफन्तहरु बाट त्यागिएपछी पहिले कहिल्यै नदेखेका, चिनजान नभएकाहरुले पो दया गरे र साझ विहान खाना दिए । त्यो निष्ठुरी अन्तिम रात उनको मुखमा पानी हालिदिने कोही भएन ।


कठै ! बिचरी राति पानी–पानी भनेर कतिबेरसम्म याचना गरिहुन् ।


श्रीमानको मृत्यु भएपछि मात्र उनले यी दुर्दिन देख्नुपर्यो । पति बितेपछि उनी दिनभरी मजदुरी गरि कमाएको जेजति हुन्थ्यो सौताका सन्ततीलाई बुझाउँथिन् । सौतेला आफन्तहरु पनि आफ्नै सन्ततिको जसरी हेरखबर गरिरहेका थिए । ती सन्तानहरुसँग मानमती पनि खुसी नै थिईन् । कहिल्यै सौतेलो सम्बन्ध जस्तो देखिएन । जीवनको उत्तराद्र्धतिर पारिवारीक हेलमेलमा उनले श्रीमानको मृत्युको पीडा र एक्लोपन बिर्सिसकेकी थिईन् । श्रीमानप्रति आभारी थिइन्, बिचरी मानमती, किन भने हजुरआमा भन्ने नाति नातिनी र सम्मान अनि प्रेम गर्ने छोरा बुहारी उपहारका रुपमा श्रीमानबाट पाएकोमा ।

एकदिन जेठको महिना हुरी बतास चल्यो, पानी पर्यो, आकाशमा बिजुली चम्क्यो, चट्याङ्गले मुटु हल्लायो । बिचरी ! मानमतिका जीवनमा पीडा र दुःखको बज्रपात भयो । मानमतीका खुसीहरु उडाएन मात्र एक खुट्टा एक हातमा पक्षघात भैइदियो । उनलाई अस्पताल पुर्याइयो । उपचार गर्दासम्म उनलाई परिवाजन कहिलेकाही मात्र भेट्न अस्पताल पुग्थे । अस्पतालले उनलाई सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने भन्यो । त्यो सम्भवै थिएन । समान्य उपचार पछि घर फिर्ता गरिदियो । उनको अपांग जीवन सुरु भयो । सौतेला छोराहरुको घरमा लट्ठी टेक्दै गैइन् । त्यो घर बल्ल सौतेलो भएको उनले बुझिन् । सकीनसकी जब उनी घरमा पुगिन् अबोध बच्चाहरु बाहेक कोही पनि बोलेनन् । उनका पतिका सन्तानहरुले उनलाई बोझ ठानेको उनलाई बुझ्न बेर लागेन ।

ओत लाग्न जाने ठाउँ त्यहाँ बाहेक अन्यत्र थिएन । त्यस एक रात पनि उनी पतिका छोराहरुको घरमा बास बसिनन्, फर्केर अस्पताल नै गइन् । अस्पतालमा बस्ने ठाउँ थिएन । त्यसैले कर्मचारीहरुले किन आएको बिदा पाएको मान्छे भन्दा आफ्नो राम कहानी सुनाईन् । त्यो रात मात्र त्यहाँ बास बस्न पाउँ भनी अनुनय बिनय गरिन् । उनको दयनीय दुरुह अवस्था देखेर अस्पतालका कर्मचारी पनि द्रवित भए । त्यस दिनको एक रात मानमतिले बास पाईन, भोलिदेखि उनले आफ्नो बन्दोबस्त आफै गर्नु थियो । कम्पाउण्ड नभएको ढोका बन्द तर बराण्डा भएको त्यही अन्तिम स्वास फेरेको घरमा आश्रय लिन पुगेकी थिइन् । उनको मृत्यु जस्तो भएपनि उनी बाँचिरहेकै बेला डिएस्पीका आफन्त आएर भने उनलाई बराण्डा छोड्न कहिल्यै दवाव दिएनन् । उनले सौतेला छोराहरुको निर्दयी निष्ठुर बैगुनी व्यवहार बराण्डाको आश्रय पछि झेल्नु परेन ।


बिचरी ! मानमतिका जीवनमा पीडा र दुःखको बज्रपात भयो । मानमतीका खुसीहरु उडाएन मात्र एक खुट्टा एक हातमा पक्षघात भैइदियो ।


दुई बर्ष पहिले रामसेवकको पनि त्यही बराण्डामा पानी नपाएर तड्पी–तड्पी प्राण पखेरु उडेको थियो । आफ्नी सहोदर दिदीका पतिको मृत्युपछि धनगढीमा बेसहारा भएकी दिदीलाई नाबालक भान्जा भान्जीहरु हुर्काउन पर्नुसम्म अप्ठ्यारो परेको देखेर उनी स्वर्गवासी भिनाजुको अन्तिम संस्कारमा धनगढी आएका फेरि फर्केर आफ्नो घर भारतको पलिया गएनन् ।

गर्मीमा बरफ बेचे । जाडोमा मुंफली बेचे । अन्य समयमा पुराना कागज, खाली सिसी, टुटा फुटा प्लास्टिक, लोहा, सिलावर, भन्दै गाउँ गाउँ साईकलमा घुमे । बिग्रिएका ती सामान, नुन–खुर्सानीसँग साट्थे । गुजारा राम्रैसँग चलाए । भान्जा भान्जी र दिदीका दुःख कम गर्ने उनको प्रयासको भारतीय मूलका व्यापारी र मजदुर सबैले मुक्तकण्ठले तारिफ गर्थे । भन्जा भान्जी र दिदीलाई पर्ने आर्थिक समस्यालाई समाधान गर्नु आफ्नो पहिलो कर्तव्य र धर्म ठाने । कति बेला जवानी आयो कति बेला बूढो भए विचरा रामसेवकलाई पत्तै भएन । विवाह, आफ्नै छोरा छोरी, घर, श्रीमतीको जीवनमा कुनै मोह नै प्रदर्शन गरेनन् उनले । दिदिले धेरै सम्झाइन घर परिवार छोराछोरी सबै मोह देखाईन । बुढेसकालमा श्रीमती छोरा छोरी बाहेक अरुको न सहयोग पाइन्छ न भरोसा । उनी धार्मिकसमेत हुनाले दिदी भन्थिन मृत्युपछि श्राद्ध गर्ने छोरा भएन भने मोक्ष नि प्राप्त हुँदैन । स्वर्ग पुगिदैन । उनी धार्मिक थिए, ईश्वरप्रती अगाध आस्था थियो तर लाग्थ्यो उनी स्वर्ग नर्कको भेदबाट मुक्त थिए । जसले जति सम्झाए नि उनले विवाहका बारे सोचेको कसैलाई थाह भएन ।

रामसेवकले आफ्ना भान्जा भान्जीका लागि जीवन अर्पण गरे । भाञ्जा भाञ्जी विवाह योग्य हुने वित्तिक्कै विवाह गराए । उमेर सधैं उस्तै रहेन उनको बूढेसकाल सुरु भयो । शरीर कमजोर हुँदैगयो । उनको साइकलको पहिले जस्तो पाइडल घुम्न कम हुनथाल्यो । उनले कमाउन पनि पहिले जस्तो सकेनन् । उमेरसँगै रोगले पनि च्याप्दै गयो । भान्जाहरु मामाको भन्दा ज्यादा कमाउने भए । उनीहरुलाई मामाको उपचार गर्नु, स्याहार गर्नु टाउको दुखाई हुनथाल्यो । कोही भारत श्रीमतीका माइत तिर गएर बसे, कोही धनगढीमै अलग भएर बसे । जसो तसो एकजना भान्जासँग उनी वचनबाण सहेर भएपनि बसेका थिए । दिदीको निधन पछि त्यो भान्जाले पनि मामालाई घरबाट निकालिदियो । रामसेवक अलपत्र भए । कमाएर भाडामा बस्ने उनको समाथ्र्य थिएन । विभिन्न सार्वजनिक स्थलमा बस्दै सर्दै गर्दा उनी त्यस बराण्डाका निवासी पनि भए । औषधोपचार, खाना र सुरक्षित बास नपाएका बेला त्यही बराण्डा उनको अन्तिम ठेगाना भयो ।

हिजो आज धनगढीमा चक्काजाम हुँदा तिनै डिएस्पीको घर भएर घरमा जाँदा त्यो घरमा मानमती रामसेवकहरु भेटिदैनन् । उनीहरु झल्याँस्स याद आउँछन् । अहिले किराना पसल राखिएकोछ त्यहाँ । जीवनको उत्तराद्र्धमा अलपत्र पारिने वा हुने अभागी रामसेवक मानमतीहरु धेरै छन् यो संसारमा सायद त्यस्ता खाली बरण्डा धेरै छन् कि छैनन् ?

प्रतिक्रिया दिनुहोस