काठमाडौँ । विशाल मिलन केन्द्रको आयोजनामा चौथो विएमके खुला बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
पुरुषतर्फ ५ र महिलामा ३ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक प्रनिशजंग शाहले जानकारी दिए ।
पुरुषमा नेपाल आर्मी क्लब, आयोजक विशाल मिलन केन्द्र, इनोभेटिभ बानेश्वर, साउथ साइडर्स र बंगालादेशको बंगलादेश नेभी टिमले प्रतिस्पर्धा गर्नेछन् । महिलामा एनसीसीएस, प्राइम र ह्वाइट हाउस इन्टरनेसनल क्लबले भाग लिने छन् ।
पुरुषतर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ । महिलातर्फ नगद पुरस्कार राखिएको छैन ।
दोहोरो लिग प्रणालीमा हुने प्रतियोगिताका खेलहरु विशालनगरमा हुनेछ । हिमालय अन टप मुख्य प्रायोजक हो भने सह–प्रायोजकमा गोर्खा ब्रुअरी र एसियन डिस्टिलरी रहेका छन् । फाइनल चैत २९ गते हुने आयोजकले जनाएको छ ।