बझाङ काँडा वडा नं. ४ निवासी मानबहादुर बोहोरा गाउँपालिका लिन काठमाडौं आए । गाउलेले चन्दा उठाएर पठाएका उनीसहितको टोलीले राजधानीमा धेरै सकस र पीडासँगै केही नौला कुराहरु पनि सिक्ने मौका पाए । पहिलो पटक सिंहदरबार छिर्नेदेखि ठूला नेतालाई प्रत्यक्ष भेट्नेसम्मको । सदियौं देखि पछाडि पारिदै आएको काँडा गाविस संघीयतामा पनि पछि नै पर्ने भएपछि या त गर या त मरको अवस्थामा राजधानी पुगेको प्रतिनिधिमण्डलको टोलीका एक सदस्य मानवहादुरसँग प्रशासन डट कमका विशेष प्रतिनिधि सिद्धराज उपाध्यायले उनीहरु बसेकै होटेल सुनधारामा पुगेर भलाकुसारी गरेका थिए । प्रस्तुत छ उनीसंगको सम्बाद जस्ताको त्यस्तै:
कस्तो रह्यो काठमाडौंमा आन्दोलन गर्दाको अनुभव ?
दुःखदायी पनि छ रमाइलो पनि छ । गाउँपालिका सम्वन्धि आन्दोलन समितिको संयोजक मै हुँ । मेरो संयोजकत्वमा हामी यहाँ आएका हौं । हामी एकदमै गाउँका मान्छे हौं । हामीलाई जिल्लाकै सदरमुकाम आउन त निकै गाह्रो हुन्छ भने काठमाडौँ आउनु त हाम्रा लागि ठूलै कुरा हो । यो काठमाडौंले हाम्रा जिल्लाका नेताहरुको बसाइ, हिंडाइ, डुलाइका साथसाथै निजी क्षेत्रमा पनि ठूलो अनुभव पाइयो ।
रमाइलो के रह्यो, दुःख के भयो ?
हामी सिंहदरवार भित्र पसेका थिएनौं, दलका शीर्ष नेताहरुको पनि अहिलेसम्म हामीले नाममात्रै सुनेका थियौं प्रत्यक्ष देखेका थिएनौं । ठूलठूलो अफिसमा गइयो । अफिसमा जाँदा त्यो रमाइलो भयो । साथसाथै हाम्रा बझाङ जिल्लाका नेताहरुसँग पनि काठमाडौँ यता उता डुल्दा रमाइलो भयो । दुःख भनेको कहिलेकांही हाम्रो गाउँपालिका हुँदैनकी भन्ने मनमा लागेको थियो ।
राजधानी केन्द्रित लामो आन्दोलन पछि घर फर्किदै हुनुहुन्छ, सिकाइ के रह्यो ?
गाउँका समस्या गाउँमै सीमित थिए । केही हुँदैन, सबै भाग्यको खेल हो, सहेर मात्रै बसेका थियौं । अब गाउँका जल्दाबल्दा समस्या नेतालाई भन्नुपर्छ, त्यो चिसो पानीबाट, त्यो चिसो हिमालबाट हामीले भनेका कुराहरु नेता मार्फत राज्यले सुन्ने रहेछ र हाम्रा समस्याहरु समाधान हुनेछन् भन्ने कुरा सिकेका छौं ।
धेरै नेताहरुसँग पनि भेट भयो कुन नेतासँगको अनुभव कस्तो रह्यो ?
पहिलो पटक शेरबहादुर देउवालाई भेटेका थियौं । उनको सोचाइ पनि एकदम ठिक रहेछ । त्यत्रो उच्च ओहोदाको नेताले हामीलाई निकै इज्जत दिनुभयो । त्यो काम गर्नैपर्छ भन्ने उहाँको धारण रह्यो ।
नाम मात्रै सुनेको नेतालाई पहिलो पटक प्रत्यक्ष भेट्दा कस्तो लाग्यो त ?
नदेखुन्जेल त देउवाजी, सभापतिजी कस्ता हुनुहुन्छ होला भन्नेथियो । हामी जस्तै अनुहार रहेछ तर दिमाग बुद्धिले, त्यहाँसम्म पुगिदो रहेछ ।
अनी केपी ओली कस्ता लागे नि ?
उहाँले पनि सकरात्मक कुरा नै गर्नुभयो ।
अरु क कसलाई भेट्नुभयो ?
प्रधानमन्त्री प्रचण्ड ज्युलाई भेट्यौं । उहाँलाई पनि पहिलो पटक भेटेका हौं ।
पहिला र अहिलेको प्रचण्डमा के फरक भेटाउनु भयो ? कस्तो लागे प्रचण्ड ?
पहिले र अहिलेमा धेरै फरक । त्यो उच्च ओहदामा गइसकेपछि अहिले धेरै राम्रोे देखिनु भएछ । उहाँको व्यवहार शैली राम्रै लाग्यो । नेपालमै पिछडिएको सुदूर पश्चिम, त्यसमा पनि पिछडिएको बझाङ, त्यसभित्र पनि पिछडिएको काँडा हो । त्यो सानो गाविसको लागि जति राज्यले बोल्नु पर्ने हो त्यो भन्दा बढी बोल्ने ठाउँ नै छैन ।
तीन जनामध्ये कसले देश बनाउँछ जस्तो लाग्यो त तपाईलाई ?
त्यति छोटो अवधि पाँच/दश मिनेटको बसाईबाट थाहा हुने कुरा भएन । हामीले सरर हेर्दाखेरी त हाम्रा देवाजीले नै देश बनाउँछन् जस्तो लाग्छ ।
आफ्नै क्षेत्रको भएर त भनेको होइन नि ?
आफ्नै क्षेत्र भएर होकी के हो । आयोगमा तुरुन्तै फोन गर्नुभयो । यो के हो ? के भइरहेको छ भन्ने कुरा बुझ्नुभयो । साँच्चिकै एकदमै छिटो प्रयास गर्नुभयो ।
कस्तो रहेछ त काठमाडौं ?
काठमाडौँको माहौलमा, यहाँको परिवेशमा डुल्न हामीलाई धेरै गाह्रो छ । कुनै ठाउँमा चिनेको हुँदैन । कसैले कहाँ भेट भन्छन् कसैले उहाँ भेट भन्छन् । हामी गाउँतिरको मान्छेलाई काठमाडौँमा समस्या नै भयो । त्यसैले हामीले काठमाडौँमा धेरै सचेत हुनुपर्दो रहेछ ।
खर्च कति भयो नि आन्दोलन गर्दा ?
खर्च निकै धेरै भयो । हामीले यो संघर्ष थालनी गरेको चार महिना भयो । साथीहरुले आ–आफ्नो खल्तीबाट हालेका छन् । गाउँका मानिसहरुले चन्दा उठाएर काठमाडौं पठाएका हुन् ।
तपाईको गाउँबाट कति जना सरकारी कर्मचारी छन् ?
हाम्रो क्षेत्र एकदमै पछाडि परेको क्षेत्र हो । हामीकहाँ सरकारको कर्मचारी भनेको दुई जना मात्र छन् । अहिले हाम्रो गाविसमा दुई जना मात्रै ।
को को हुन् ति दुइ जना ?
एउटा स्वास्थ्यमा परिचर छ रामलाल बोहरा । एक जना नेपाली सेनामा छ । स्थायी कर्मचारी भनेका ति दुई जना हुन् । किनभने हाम्रो क्षेत्र शिक्षामा निकै कमजोर छ । अहिले पनि सञ्चारको सुविधा नभएको क्षेत्र पनि हाम्रो काँडा नै छ । टेलिफोन छैन ।
गाविसभरी मै दुई जना कर्मचारी मात्रै भनेपछि त निकै सान, मान र सम्मान होला नि है ?
गाउँमा हेर्ने हो भने उनीहरु स्थायी कर्मचारी छन् । उनीहरुको ठुलो सम्मान छ । हामीलाई राज्यले पछाडि पारेको हो । क्षेत्रले पनि पछाडि नै पार्यो । जिल्लाले पनि पछारेकै छ । धन्न यार्सागुम्वा भन्ने जडिबुटी छ । त्यसैको आम्दानीले हामीले त्यहाँ दुईवटा माध्यमिक विद्यालय खोलेका छौं अहिले । अब छोराछोरी पढाउनुपर्छ भन्ने लागेर गाउँलेहरुले मिलेर विद्यालय खोल्ने काम गरेका हौं ।
शिक्षाको अभाव नै पछाडि पर्नुको मुख्य कारण हो रहेछ हैन त ?
हो हजुर पक्कै पनि । छोरी चेलीहरु बल्ल अहिले एक दुई बर्ष भयो एस.एल.सी दिन तयार छन्, नत्र मेरो पनि पाँचै हो । त्याहाँका धेरैजसो जनताको पढाइ भनेको पाँच कक्षा नै हो । पाँचै पढ्यो आनन्द । पाँच भन्दा माथि विद्यालय छैन । उच्च शिक्षा हासिल गर्नको लागि सदरमुकाम चैनपुर जानुपर्छ । त्यहाँसम्म जानलाई पैसा हुँदैन । गाह्रो हुन्छ । त्यसैले पाँच पढ्यो सिध्यो । मैले क्यालकुलेसन गर्दा खेरी हामीले छत्तिस लाख बत्तिस हजार गाउँमा चन्दा उठाएर मावि, निमाविसम्म पुर्याएका छौ । हामी गाउँबाटै पैसापानि जम्मा गरेर चलाउँछौ ।
यार्सागुम्बा बेचेको पैसाले निमावि, मावि नै खोल्ने भनेपछि त राम्रै बिक्रि हुन्छ होला नि त हैन ?
केही भन्न सकिदैन । कसैले पचास हजार, कसैले एक लाख, कसैले डेढलाखसम्म कमाउँछन् । राम्रै हुनेको दुई, तीन, चार लाखसम्म हुन्छ ।
यार्सागुम्बाको बजार कहाँ हो ?
गाउँमै आउछन् ठेकेदारहरु उनीहरुसँगै बेच्छौ ।