अरु त दिएनौ, दिएनौ एउटा गाउपालिका त देऊ न सरकार ! « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

अरु त दिएनौ, दिएनौ एउटा गाउपालिका त देऊ न सरकार !


१९ मंसिर २०७३, आइतबार


डोल्मा तामाङ, शेरबहादुर बोहरा, रामबहादुर तामाङ वा कर्मा तामाङहरु केही प्रतिनिधि पात्र हुन् । तिनका आवाजहरु प्रतिनिधि अभिव्यक्तिहरु । अनि तिनले उठाएका माग सिंगैं गाउलेको एकसूत्रिय माग हुन् । तिनका मागमा उपेक्षाको अन्त्य र भौगोलिक बिकटताको मिलान हो । तर जो अगुवा उही द्धैध चरित्रका र जनताका बैरी जस्ता भैदिदा काँडावासीको व्यथा बढेको छ, समस्या चर्केको छ अनि पीडा बल्झेको छ ।

सुनैको महल बनाइ दिने सपना देखाएर भोट लिएका नेताहरु १५ रुपैयाँमा पाउने नुन जनताले १५० रुपैयाँसम्ममा किनेर खाइरहँदा चुइक्क समेत बोलेका छैनन् । यदि आवाज उठाएका हुँदा हुन् त काँडाबासीले एक केजी नुनको १ सय ५० रुपैयाँ तिर्नु पर्दैनथ्यो होला । राज्यबाट पाउनुपर्ने सेवा सुविधा अन्तर्गत एक थान नागरिकता वाहेक अन्य केही नपाएको गुनासो गर्दै आएका काँडाबासीहरु यतिबेला नागरिकता नै त्याग्नुपर्ने गरी सदरमुकाम ओइरिएका छन् । ४ दिनको पैदल हिँडेर सदरमुकामसम्म आइपुगेका महिला, बालबालिका, बृद्धबृद्धा सहित हजारौं स्थानीय वार या पार भन्दै जिल्ला विकास समितिको कार्यालयमा धर्ना जुलुस सहित आन्दोलन चर्काइरहेका छन् । उनीहरुले राज्यसंग मागेको एकथान गाउपालिका पनि किन नपाउने ? किन यो अवस्था आयो भन्ने सन्दर्भमा हामीले केही स्थानीयहरुसंग कुरा गरेका थियौं, हेरौं उनीहरुका भनाई जस्ताको त्यस्तैः

शेरबहादुर बोहोराः चार दिनको पैदल हिँडेर तीन दिन देखि सदरमुकाममा आन्दोलनमा

मेरो नाम शेरबहादुर बोहोरा हो । म चार दिनको पैदल हिँडेर तीन दिनदेखि सदरमुकाममा आन्दोलनमा सहभागी छु । यतिबेला हामी स्थानीय तह पुनर्संरचनाको विषयलाई लिएर लिएर जिल्ला आएका छौं । हाम्रो माग भनेको काँडा गाविसलाई छुट्टै गाउँपालिका बनाउनु पर्छ भन्ने हो । हामी शिक्षाको हिसावले पनि पछाडि छौं । सिंगो गाविसमा एसएलसी पढेका १५/२० जना मात्रै छन । हाम्रा बारेमा बोलिदिने कोही छैन । काँडा गाविसको नाम बेचेर आफु सदरमुकामबाटै खान्छन्, साइपालको नाम बेचेर आफै खान्छन् हजुर ।

कुनै योजना पर्यो भने हामीलाई थाहा हुँदैन । हामीले थाहै पाउदैनौं जिल्लामा के के हुन्छ भनेर । हाम्रो गाउँमा एउटा टेलिफोनको टावरसमेत निर्माण गरिएको छैन । एउटा भिस्याट फोन छ । एक कल फोन गर्न दश रुपैयाँ तिर्नुपर्छ । त्यो पनि स्मार्ट टेलिकमले गर्दा धन्न त्यति छ । पुलपुलेसा छैनन् । राजनीतिक खिचातानीकै कारण सबै ठाउँ विद्यालय बनिरहँदा हामीकहाँ एउटा ब्लग पनि परेन, भवनहरु जिर्ण अवस्थाका छन् । कतिसम्म भने एउटा न्युना प्रा.वि. छ । चुहिएका छानामुनि बसेर पढ्न बाध्य छन् विद्यार्थीहरु ।

कति विडम्बना छ भने एक सय पचास रुपैयाँको एक पाकेट नुन किनेर खाने गरेका छौं । सिजनअनुशार एक सय देखि दुई सय रुपैयाँ किलोसम्म चामल किनेर खान बाध्य छौं । भेडा, खच्चरबाट बोकेर लैजाँदा निकै महंगो पर्छ ।

अहिले पनि एक केजि नुनको एक सय पचास रुपैयाँ तिर्नुहुन्छ ?
हो हजुर, अहिले पनि एक सय पचास रुपैयाँमा एक केजि नुन किनेर खान्छौं ।

आजको दिनसम्म पनि यति महंगो नुन किनेर खाइरहँदा जिल्लास्थित सरकारी अधिकारीहरुसंग केही कुरा गर्नु भएन ?
भनेपनि बेवास्ता ग¥यो हजुर । यहाँ दादागिरी चल्छ, अफिसभित्रै घुसपिठ चल्छ । यस्तै यस्तै कुरा हुन्छ हजुर यतातिर । म एउटा कहानी भन्छु हजुरलाई । एक पटक जिल्लामा नुनका लागि खुल्दा खेरी म पनि त्याहाँ पुगे । म धेरै दुर्गम देखि आएको । मलाई पाँच कट्ठा नुन दिनु न सर भने । हुन्न त्यो हुँदै हुन्न । तपाई जाँ देखि आउनुहुन्छ तपाईलाई १० पोका भन्दा बढी पाइदैन भनेर त्यस्तरी हकारेको छ हजुर ।

तपाईको जिल्लाका नेतालाई यो कुरा थाहा छैन कि तपाई नेतासम्म पुग्न सक्नुभएको छैन ?
नेताले भोट माग्दाखेरी तपाईको क्षेत्रको बिकास गराइदिन्छु । रोड पु¥याइदिन्छु । विद्युत बनाइ दिन्छु । बाटाघाटा बनाई दिन्छु भनेर आश्वासन दिएका थिए हजुर । अहिले जितेपछि सांसदहरु जिल्लामा बस्दै बस्दैनन् । काठमाडौं मात्रै बस्छन् ।

untitled-2

डोल्मा तामाङ: सदरमुकाम आउन जान नै ८ दिन लाग्छ । गाविसको बैठक बस्न पनि छ महिना कुर्नुपर्छ, एकैचोटी हिँउदमा गर्छौं ।

तपाई किन यहाँ ? यो के को मेला छ र ?
मेरो नाम डोल्मा तामाङ हो । हाम्रो काँडा गाविस एकदमै पिछडिएको ठाउँ हो । सदरमुकाम आउनजान नै ८ दिन लाग्छ । चार दिन आउन, चार दिन जान । हामी सरकारका सबै सेवा सुविधाबाट वञ्चित छौं । न स्वास्थ्य छ न शिक्षा छ, न त संचार नै छ । पाएको भनेको एउटा त्यही नागरिकता हो । त्यै हो सरकारले दिएको भनेको । सबै कुराबाट बञ्चित भएको गाविस हो हाम्रो ।

यति विकट छ की गाविसको बैठक बस्न पनि छ महिना कुर्नुपर्छ, एकैचोटी हिँउदमा गर्छौ । अहिले जहाँ सेवा केन्द्र रहने भनेको छ, त्यहाँ पुग्न पनि ४ दिन नै हिड्नु पर्छ । मेलबिसौना पुग्न पनि ४ दिन नै हिड्नु पर्छ । अब पनि हामीलाई त्यसो नगरिदिनुहोस्, हामीलाई छुट्टै गाउँपालिका बनाउनुहोस् भन्ने हाम्रो माग हो । एउटा वडाबाट अर्कोमा पुग्न पनि एक दिन भन्दा बढी लाग्छ । पुल पुलेसा केही छैनन् । त्यसैले हामीले आन्दोलन गर्नुपरेको हो ।

नेताहरुले तपाईको माग किन सुनेन्न त ?
नेताहरुले मुखले ठिक्क पार्छन् । हामीहरु तपाईका पक्षमा छौं भन्छन् । तर कामले अर्कै गर्छन् । आफै बच्ने काम मात्रै गर्छन नेताहरु । जति गाउँपालिका बनाए पनि हामीलाई छुट्टै पालिका चाहियो । यदि भएन भने नागरिकता बुझाइसकेका छौ, अब हामी नेपाली पनि होइनौं राज्यले यस्तो विभेद गर्छ भने ।

untitled-3

रामबहादुर तामाङ: राजनीतिक दलदेखि प्राविधिक समितिले कुनै वास्ता राखेका छैनन् । अहिलेसम्म ५१५ थान नागरिकता बुझाइसकेका छौं, बाँकी पनि हामी बुझाउँदैछौं ।

तपाई किन आन्दोलनमा ?
म रामबहादुर तामाङ । हाम्रो गाउँ जिल्लाको पर कुनामा चाइनासंग जोडिएको नाकामा पर्छ । हामी चार दिन लगाएर हिंडेर आयौं । अहिलेको गाउँपालिकाको केन्द्र जहाँ बन्दैछ त्यहाँ पुग्न पनि हामीलाई तीन/चार दिन नै लाग्छ । त्यै भएर महिलाहरु पनि बच्चा बोकेर आन्दोलनमा उत्रेका छन् ।

यति हुँदा पनि यहाँको राजनीतिक दलदेखि प्राविधिक समितिले कुनै वास्ता राखेका छैनन् । हामी तीन दिन देखि आन्दोलनमा छौं अहिलेसम्म ५१५ थान नागरिकता बुझाइसकेका छौं, बाँकी पनि हामी बुझाउँदैछौं । यति हुँदाहुँदै पनि अहिलेसम्म हाम्रा मागका बारेमा कुनै पनि निर्णय हुन सकेको छैन ।

नेताहरु के भन्छन् त ?
नेताहरु हुन्छ भन्छन् । काँडालाई छुट्टै गाउँपालिका बनाउनेमा लागिरहेका छौं भनेर भन्छन् । आजसम्म बनाउन सकेका छैनन् । खाली हामीलाई झुट्टा आश्वासन दिएर माथि आयोगमा निर्णय पठाईरहेका छन् र हामीलाई छुट्टै हुन्छन् भनेर झुट बोलिरहेका छन् । तर हामी विस्वस्त छैनौं । हामीलाई आँखामा छारो हाल्ने काम भएको छ ।

untitled-7

उसो भए सबै धोका त नेताहरुले नै दिएका हुन्  ?
हो, यो सबै राजनीतिक दलहरुले गरेको हो । यहाँ सबै मिलाएको दलले नै हो । यहाँको जिम्मा तिनीहरुले नै लिएकोले हामीले उनीहरुले भने अनुसारकै खाका पारित गरेर माथि पठाएको हो भन्छन् । सबै राजनीतिक दलका नेताहरु पनि हामीसंग छन् । ठोस निर्णय नहुन्जेल हाम्रो आन्दोलन जारी रहनेछ । नेपाल सरकारका सबै सेवा सुविधाबाट बञ्चित नै हो अहिलेसम्म, अब पनि हामीलाई यसैगरी हेपिने हो भने हामी सबै नागरिकता थप पनि बुझाउँछौं ।

untitled-4

कर्मा तामाङ: हाम्रो माग सुनुवाइ नभएपछि महिला, केटाकेटी, बुढाबुढी सबै सदरमुकाम आएका छौं । माग पुरा नभए, या त आफु मर्नु या त अरुलाई मार्नु वाहेक विकल्प हुँदैन त्यै हो ।

तपाईहरुको यो आन्दोलनको कारण के हो ?
मेरो नाम कर्मा तामाङ हो । स्थानीय तह पुनर्संरचना गाइडलाईन अनुसार ४ घण्टा भन्दा टाढा पर्ने अवधारणा पनि छ । क्षेत्रफलको हिसावले पनि सिँगो बझाङ एकातिर राख्दा अर्कोतिर काँडा राख्दा काँडा गाविसकै पल्ला भारी छ । काडाँगाउँ भौगोलिक रुपमा पनि त्यति ठूलो छ । यहाँको भेषभुषा संस्कृति सवै छुट्टै छ । लामा, तामाङको बाहुल्यता रहेको काँडाको संस्कृति आफ्नै खालको छ । यी धेरै कारणले गर्दा पनि काँडा गाउँलाई छुट्टै गाउँपालिका बनाउनुपर्छ भनेर विगतका दिनदेखि पनि हामीले धर्ना दिएकै हो । आयोगसम्म पनि हामी पुगेकै हो । यति हुँदा पनि हाम्रो माग सुनुवाइ नभएपछि महिला, केटाकेटी, बुढाबुढी सबै सदरमुकाम आएका छौं । ५१५ वटा नागरिकता फिर्ता दिइसकेका छौं ।

माग पुरा भएन भने के गर्नुहुन्छ त ?
हाम्रो माग पूरा भएन भने हामी शसक्त ढंगले थप आन्दोलन गर्छौ । यस्तो अवस्थामा या त आफु मर्नु या त अरुलाई मार्नु वाहेक विकल्प हुँदैन त्यै हो । अन्तिम अवस्थामा जे पनि हुनसक्छ । हाम्रो माग पुरा नभए राम्रो हुनेछैन । यो अनिश्चितकालिन आन्दोलन हो ।

माग पुरा हुने कुनै लक्षण छ की ?
राजनीतिक दलका नेताहरु, सभाषदहरु, प्रजिअ, स्थानीय विकास अधिकारी र प्रतिनिधीहरु त लागि राख्नुभएको छ । आयोगलाई भन्छौं भनेका छन् ।

पहिल्यै तपाईहरुका माग किन सुनुवाई भएन्न त ?
यस अघि पनि आयोगका अध्यक्षलाई भेटेका थियौं । यहाँको समग्र वस्तुस्थिति र भूगोलका बारेमा उहाँले पनि बुझ्नु भएको छ । र, ५६५ हुँदाखेरी ५६६ बनाउँछौं भनेका थिए । पछि इलाकालाई आधार मानेर गाउँपालिका बनाउने कुरा आयो त्यसमा हाम्रो गाउँपालिकालाई काँडालाई छुट्टै गाउँपालिकामा पार्नु भएन । जवकी ८ वटा हुँदा पनि पारेको थियो भने अहिले त ११ भएको छ तर पनि काँडालाई पारेको छैन । जिल्लाका प्राविधिक समिति र राजनीतिक दलको नै दोष हो यो । जानकारी हुँदाहुँदै पनि उहाँले पार्नु भएन ।

भनेपछि त नेताहरुले नै उपेक्षा गरेको हो तपाईहरुलाई ?
सबैका ठाउँमा नेताहरु छन्, अगुवा छन्, तर काँडा क्षेत्र यस्तो ठाउँ प¥यो कि त्यो उपेक्षित ठाउँ हो, अशिक्षित ठाउँ हो, अविकसित प¥यो । निमुखा जनताको ठाउँ हो, त्यहाँ बोल्ने मान्छे कोही भएन, त्यसैले पछाडि पारेको अवस्था हो ।

untitled-6

untitled-5

untitled-6

संवाद तथा प्रश्तुतीः  सिद्धराज उपाध्याय, प्रशासन डटकम ।

प्रतिक्रिया दिनुहोस