काँडालाई अलग गाउपालिका बनाउन अन्तिमसम्म हामी लड्छौं । « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँडालाई अलग गाउपालिका बनाउन अन्तिमसम्म हामी लड्छौं ।


प्रशासन विशेष ब्युरो

१९ मंसिर २०७३, आइतबार


 

उसो त केही कित्ता भूूगोलको सीमा मात्रै नेपाली जनताको देशभक्तिको मानक हुन सक्दैन । तर स्थानीय जनभावना बिपरित केही भौगोलिक बिभाजन मात्रै गरेर संघीय संरचना बनाउने सरकारी तयारीले देशैभरका धेरै स्थानीयवासीलाई चित्त दुखाईरहेको छ । स्थानीय जनताको साँध, सिमाना बिभाजन र मिलानको वैज्ञानिक आधार नहुदा स्थानीय जनताको पिरालो बझांगको काँडा गाविसमा पनि बल्झेको छ । आखिर आफ्नो भावना नसमेटिने हो भने नागरिकता प्रमाण पत्र नै चाहिन्न भन्ने स्तरसम्म जनआक्रोश बढेको छ । यसरी जनताका लागि भनिएको राज्य पुर्नसंरचनाका नाममा किन जनतालाई आन्दोलित गराईदैछ । यसै विषयमा केन्द्रीत रहेर सांसद अफिलाल ओखेडासंग कुराकानी गरेको थियौंः 

छुट्टै गाउँपालिका नदिएको विषयमा काँडाबासीले नागरिकता फिर्ता गरेको विषयलाई कसरी बुझ्नु भएको छ ?

यो एकदमै साँचो कुरा हो । काँडा गाविस विशिष्ट भूगोल विशिष्ट पहिचान बोकेको भूगोल हो । त्यसलाई छुट्टै गाउँपालिका बनाईनुुपर्ने भन्ने माग छ । हामीले पहिले पनि छुट्टै दिनुपर्छ भनेर आयोगसंँग कुरा गर्दा ५६५ को सिलिङ हुँदा पनि ५६६ दिन्छु भनेर आयोगले भनेको हो । त्यसपछि संख्या बढ्ने क्रममा ११ वटा बझाङलाई दिँदा १० वटा अरु बनाएर काँडालाई छुट्टै बनाएर ११ बनाउनु पर्छ भन्ने हाम्रो मान्यता थियो । परिस्थितिवस् जिल्लाको जुन प्राविधिक समितिबाट हामीसंग सोधनीको काम भयो । ११ वटा इलाकालाई आधार मानेर बनाउँदा काँडालाई एक नम्बरमा हालेर बनाएछन् । त्यसपछि पनि काँडाबासीको यो माग छ है भनेर पछिल्लो चरणमा सुझाव सल्लाह दिँदाखेरी पछिल्लो चरणमा बसेको बैठकले काँडालाई छुट्टै गाउँपालिका सहित १२ वटा बनाएर पठाएको छ ।

काँडा गाविस तेह्थुम भन्दा दुई गुणा ठूलो र पर्वत भन्दा तीन गुणा ठूलो भूगोल ओगटेको हुँदा अहिले पनि एउटा वडाबाट अर्को वडामा जाँदा एक दिनको दुरी पर्न जान्छ । झन अब बन्नेसेवा केन्द्रमा पुग्न तीन दिनको समय लाग्ने भएकोले काँडा छुट्टै गाउँपालिका दिनुपर्छ । ७४४ जुन सिलिङ आएको छ, त्यसलाई ७४५ बनाइ हाल्दा कुनै आकाशै खस्नेवाला छैन, यो कुरालाई आयोगले गम्भिरताका साथ बुझ्नु पर्छ । हामी सम्पूर्ण बझाङवासीको सर्वदलिय, सर्वपक्षिय सहमति हो, काँडालाई छुट्टै गाउपालिका बनाएर १२ वटा बनाउनु पर्छ ।

तपाईको पार्टीको धारणा पनि यही हो ?
तत्कालिन परिस्थितिमा हाम्रो दलका अध्यक्षज्यू पनि गएर ११ वटा इलाकामा काँडालाई एक नम्बर इलाका भित्र पर्दथ्यो र त्यतिबेला त्यो भएको हो । त्यसपछि आयोगले सच्याउने सन्दर्भमा पठाएको एउटा चिठिमा काँडालाई एक नम्बरमा राखेर १२ वटा प्रस्तावित गरेको छ । हाम्रो पार्टी नेकपा एमालेको यसमा पूर्ण समर्थन छ र समर्थन गराउँछु । आयोगले गम्भिरताका साथ लिनुपर्छ । पहिले पनि ५६५ हुँदा ५६६ बनाउँछु भनेको हो भने अहिले पनि आयोगले ७४४ हुँदा ७४५ मा दिनुपर्छ । हैन भने नागरिकता फिर्ता गरेका छन् । आन्दोलित छन् । यो कुरामा हाम्रो पार्टीको समर्थन छ र सबै बझाङ्गीको समर्थन छ ।

तपाईले भने जस्तो उनीहरुको माग पुरा भएन भने त्यहाँको अवस्था के होला ?
सिडियोले नागरिकता बुझ्न नमानेपछि एलडियो कहाँ नागरिकता बुझाएका छन् र हामी नागरिक पनि पर्दैनौं भन्ने कुरा गरेका छन् । तर त्यो पाउनुहुन्न भन्नुभन्दा पनि आयोगले त्यसलाई सम्बोधन गर्नुपर्छ भन्ने मान्यता हो ।

यदि काँडाबासिले भनेजस्तै भएन भने तपाईहरु के गर्नुहुन्छ ?
काडाँलाई अलग गाउपालिका बनाउने कुरामा अन्तिमसम्म हामी लड्छौं ।

प्रतिक्रिया दिनुहोस