सुदूरपश्चिममा वित्तीय जागरणको शुभारम्भ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिममा वित्तीय जागरणको शुभारम्भ


प्रशासन विशेष ब्युरो

१४ फाल्गुन २०७३, शनिबार


कैलाली । सुदुर पश्चिममा ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ सुरु भएको छ । कैलाली जिल्लाको अत्तरीया नगरपालिकास्थित एक विद्यालयमा आयोजित समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले अभियानको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले वित्तीय साक्षरता बढाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्न सबैलाई आग्रह गरेका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाका ग्रामिण इलाकामा बैंक तथा वित्तीय संस्थाको उपस्थिति अझै बलियो नरहेकोतर्फ इंगित गर्दै उनले भने– ‘तपाईहरु त्यस्ता ग्रामिण क्षेत्रमा जानुस्, त्यसो गर्दा वित्तीय साक्षरता पनि बढ्छ ।’ वित्तीय साक्षरता अभियान सिँगो मुलुककै अभियान भएको बताउदै बढीभन्दा बढी जनसंख्यालाई वित्तीय पहुँचमा ल्याउन सरकारले एक घर एक खाता योजना अघि सारेको बताए ।

बिदेश मात्रै एक मात्र विकल्प बनिरहेको वर्तमान सन्दर्भमा युवाहरुलाई लक्षित गर्दै गभर्नर नेपालले भने ‘तपाई त विदेश जानुहोला र आफ्नो दूनो सोझ्याउनुहोला तर तपाईका सन्तानलाई फेरी भोलि विदेश जान नपर्ने वातावरण बनाउनको लागि तपाईले यही माटोमा पैसा खोज्नुपर्छ, यही छ प्रशस्त सम्भावना र अवसर ।’

पैसाको महत्व र यसको परिचालनबारे थाहा नपाएकाले नेपालीहरुले दुःख पाएको भन्दै उनले आफ्ना सन्तानलाई सानैदेखि पैसाको बारेमा जानकारी गराउने संस्कृतिको विकास हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी cधनगढीका निर्देशक विश्रुत थापाले वित्तीय साक्षरता बढाउनु अहिलेको अवश्यकता भएकाले वित्तीय जागरण अभियानको विशेष अर्थ हुने बताए । हाल सुदूरपश्चिममा २०३ वटा बैंक तथा वित्तीय संस्थाका शाखा रहेको जानकारी दिँदै उनले ती संस्थालाई वित्तीय साक्षरता बढाउने खालका कार्यक्रम संचालन गर्न सुझाव पनि दिए ।

नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक गुरु पौडेलले बैंक तथा वित्तीय संस्थासँग कारोबार फाइदा र सुरक्षा दुवै रहेको बताए । अब गोजीमा वा सिरानीमा पैसा राख्ने जमान गएको भन्दै उनले बैंक तथा वित्तीय संस्थासँग कारोबार नगरेकाले कारोबार गर्न आह्वान गरे ।

वित्तीय जागरण राष्ट्रिय अभियानका बैंकिङ पार्टनरको रुपमा रहेको एनआइसी एशिया बैंकका सीईओ लक्ष्मण रिसालले बैंक बुझेर यसमा कारोबार गर्ने मानिस समृद्धितर्फ उन्मुख हुने बताए । बैंकहरु नागरिककै हितमा हुने भएकाले यस्ता संस्थामा कारोबार गर्ने इमान्दार सेवाग्राहीहरुलाई कहिले घाटा नहुने उनको भनाई थियो । विकसित मुलुकहरुमा मानिसहरुले हरेक कारोबार बैंक तथा वित्तीय संस्थाकै माध्यमबाट गर्ने भन्दै उनले नेपालमा पनि त्यस्तै परिपाटीको विकास गराउन वित्तीय जागरण राष्ट्रिय अभियानको आवश्यकता भएको जिकिर गरे ।

डेभलपमेण्ट बैंकर्स एसोसियसनका बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पौडेलले नेपालको बैंकिङ क्षेत्रमा अहिले वित्तीय साक्षरताको कमी हुनु नै एउटा मुख्य चुनौति रहेको बताए । ‘वित्तीय साक्षरताका लागि चलाइएको यस राष्ट्रिय अभियानमा म विकास बैंकर्स संघको उपाध्यक्षका हैसियतले हाम्रो संघ र बैंकबाट सबै किसिमको सहयोग गर्न तयार रहेको कुरा जानकारी गराउन चाहान्छु ।’ उनले भने ।

मिडिया इन्टरनेसनलका अध्यक्षसमेत रहेका कार्यक्रम संयोजक माधव निर्दोषले सम्भावना र अवसर नेपालमै भएकाले स्वदेशमै उद्यमशील बन्नुपर्नेमा जोड दिए । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर त्यसको सदुपयोग गर्न सके यही उद्यमशील बन्न सकिने उनले बताए । नेपालमा वित्तीय जागरण फैल्याउन सके चाँडै समृद्ध नेपाल बन्ने उनको भनाई थियो ।

नेपालमा अझै पनि ६० प्रतिशत नागरिक बैंकिङ पहुँचभन्दा बाहिर रहेको र अझै पनि झण्डै २० प्रतिशत नागरिक साहू महाजनसँग नै कारोबार गरिरहेको तथ्यका बीच मिडिया इन्टरनेसनले गर्न लागेको यस कार्यक्रमले वित्तीय साक्षरता बढाउन निकै महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस