संविधान कार्यान्वयनमा सङ्घीयता चुनौतीपूर्णः प्रधानमन्त्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संविधान कार्यान्वयनमा सङ्घीयता चुनौतीपूर्णः प्रधानमन्त्री


प्रशासन संवाददाता

७ फाल्गुन २०७३, शनिबार


काठमाडौँ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र लोकतन्त्रको थालनी भएको दिनका सम्झनामा मनाउँदै आइएको राष्ट्रिय प्रजातन्त्र दिवसको शनिवार सैनिक मञ्चमा विशेष कार्यक्रम गरिएको छ ।

सैनिक मञ्चमा आयोजित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानन्यायाधीश सुशीला कार्कीलगायत मन्त्रीगण, संवैधानिक नियोगका प्रमुख एवम् कूटनीतिक नियोगका प्रमुखको उपस्थिति रहेको थियो ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको बताउँदै त्यसका लागि सरकार सचेत रहेको बताए ।

उनले भने, “संविधानसभाले जारी गरेको संविधानको कार्यान्वयनका लागि चुनाव अनिवार्य छ, शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगी राजनीतिक सङ्क्रमणको एउटा महत्वपूर्ण अध्याय समाप्त हुन्छ भन्ने कुरामा सरकार गम्भीर र सचेत छ ।” प्रधानमन्त्रीले निर्वाचित जनप्रतिनिधि आएपछिको सरकारको दूरदृष्टि र योजना के हुन्छ भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण हुने उल्लेख गरे ।

निर्वाचनसँग सम्बन्धित राजनीतिक र कानुनी मुद्दाको टुङ्गो लागिसकेको भन्दै उनले सरकारले निर्वाचन आयोगलाई आगामी वैशाखको अन्त्यसम्म निर्वाचन सम्पन्न गर्ने गरी तयारी गर्न पत्राचार गरिएको जानकारी दिए ।
संविधान कार्यान्वयनमा सङ्घीयता नै सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले भने, “सङ्घीयतामार्फत सिंहदरबारको अधिकार, स्रोत र साधन संविधानको भावनाअनुरुप प्रदेश र स्थानीय तहमार्फत जनताको घरदैलोसम्म पुर्याउन मुख्य उद्देश्य हो, यसबाट पहिचानको चाहना पूरा हुने मात्र होइन, शासन व्यवस्था जवाफदेही हुने र अवसरबाट वञ्चित र पछाडि परेका वर्ग र समुदायको पहुँच बढ्न गई समग्र राज्य प्रणालीप्रति जनताको वैधता र स्वीकार्यता बढ्छ ।”

प्रधानमन्त्रीले संविधानले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताजस्ता नेपाली जनताका परिवर्तनका चाहनालाई स्थापित गरेको छ भने मानव अधिकार, शक्तिको पृथकीकरण, कानुनी शासनजस्ता लोकतन्त्रका आधारभूत मूल्यलाई पनि आत्मसात् गरेको स्पष्ट पारे ।
समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि र बेलुन उडाइएको थियो । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री र प्रधानन्यायाधीश कार्कीले शान्तिका प्रतीक परेवा उडाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस