Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

शब्द खेती गर्नेको ‘शब्द छाल’


२२ माघ २०७३, शनिबार


‘शब्द छाल’ समाजमा देखिएका घटनालाई किनारा लगाउन उनिएको एउटा सुन्दर शब्दहार हो । जुन हारमा उनिएका छन् नेपाली समाजमा व्याप्त पीडा । ती शब्दहारमार्फत् सरोकारवालाको ध्यान केन्द्रित गरेर समाजमा व्याप्त समस्यालाई छाल यानिकी किनारा लगाउने एउटा सुन्दर शब्द माला ‘शब्द छाल’ । पुष्पराज जोशी पत्रकारितमा नौलो नाम होइन । पुष्पराज जोशी ‘पुकार’ पनि साहित्यमा नौलो होइन । वि.सं. २०६० सालबाट धनगढीको सुदूर सन्देश दैनिकमा संवाददाता भएर पत्रकारितामा आवद्ध भएका जोशी एक दशकभन्दा लामो समयदेखि हतारको साहित्य लेख्नमा अभ्यस्त छन् । त्यो हतारको साहित्य नै पत्रकारिता हो । उनी पत्रकारितामा पनि विकासपरक समाचार, ओझेलिएको साहित्यिक-सांस्कृतिक र आसावादी समाचारमा बढी कलम चलाउने व्यक्ति हुन् ।

लेखक

समाचार रुपी शब्दमा कमल चलाउँदा चलाउँदै । ती समाचार रुपी शब्द संकलनको क्रममा देखेका घटनालाई मनको एउटा क्यानभासमा सुरक्षित राखेका रहेछन् शब्द छालको लागि । कैलालीको मसुरिया–३, मट्कौनामा २०४३ फागुन २५ गते पिता डिल्लीराज र माता दुर्गादेवीको कोखबाट जन्मेका हुन् जोशी । विभिन्न पत्रपत्रिकामा काम गर्दै आएका जोशी २०६६ सालदेखि नागरिक दैनिकको डोटी संवाददाताका रुपमा नागरिकमा आवद्ध हुनपुगे । २०६९ सालदेखि उनी नागरिक दैनिक पश्चिमेली संस्करणको सम्पदान मण्डलमा काम गर्दै आएका छन् ।

विकासपरक समाचार, ओझेलिएको साहित्यिक-संस्कृति र आसावादी समाचारमा बढी कलम चलाउने पत्रकार पुष्पराज जोशी साहित्यका क्षेत्रमा मुक्तक विधामा शब्द खेलाउँछन्

उनले त्यही नेपालगन्जको बसाइँमा केही समय पाए र सो समयलाई सदुपयोग गर्दै ‘शब्द छाल’ कृति बजारमा ल्याए । धनगढी जिल्ला विकास समितिको हलमा सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित एक समारोहमा उनको कृति विमोचन भयो । जोशीको ‘शब्द छाल’ मुक्तक सङ्ग्रहभित्र निकै मार्मिक र समाजको यथार्थ चित्र हुने खालका गजल सङ्ग्रहित छन् । उनीसँगको मेरो धेरै लामो चिनजान पनि होइन । डोटी नागरिक दैनिकमा काम गर्दा उनीसँग मेरो सामान्य चिनजान थियो । म पनि साहित्यलाई माया गर्ने भएकाले हुनुपर्छ । हाम्रो चिनजानपछिको सम्बन्ध निकै राम्रो रह्यो । इमान्दार पत्रकारको छवि बनाएका जोशी कुसल मुक्तककार पनि हुन् । साहित्यिक मन भएकाले होला जोशी भावनामा निकै बग्ने स्वभावका छन् ।

जोशी मान्छे जन्मिसकेपछि समाजका लागि केही गर्नुपर्छ भन्ने स्वभावका भएकाले नै होला उनको यो कृति जन्मिएको । मुक्तक लेखन अत्यन्त अप्ठ्यारो कार्य हो । थोरै शब्दमा धेरै भाव समेट्नु पर्ने अर्थात मुक्तक लेखन आफूले दर्शाउन चाहने भावना, यथास्थिति, घटना, परिवेशलाई सटिकरूपमा व्यक्त गर्न सकिने शब्दलाई बारिकी तरिकाले छनोट गर्न सक्ने खुबी नै हो । जसमा जोशी पोख्त रहेको उनको यो मुक्तक सङ्ग्रह पढ्दा आभाष हुन्छ ।

मतलबी यो दुनियाँमा, आश रहुन्जेल आफ्ना हुने
नगुमाइ पाउन केही, सास रहुन्जेल आफ्ना हुने
दिलको कुरा खोली दिए, लाखापाखा लाग्दा रै’छन्
त्यै भएर त उखान बन्यो, गाँस रहुन्जेल आफ्ना हुने

म त सोच्थे, सधैँ उस्तै, सबै उस्तै हुन्छन् होला,
औँसीको त्यो कालो रातमा, बास रहुन्जेल आफ्ना हुने

जोशीको मुक्तक सङ्ग्रह भित्र सङ्ग्रहित यो पहिलो मुक्तक हो । यो मुक्तक निकै चोटिलो र यथार्थ परक छ । हुन पनि हो मुक्तककारले भने जस्तै आजभोलि आफ्नाहरू पनि मतलव हुनसम्म मात्र आफ्ना हुन थालेका छन् । उनले यस्तै यथार्थ परक घटनामा आधारित भएर मुक्तक कोरेका छन् ।

सुनसान कोठा, तिमी र म, बस्दा कस्तो होला ?
च्याप्प समाई अँगालोमा, कस्दा कस्तो होला ?

भन्न पनि गाह्रो, लाग्छ तिम्रो अवस्था
लालुपाते ओठहरू, डस्दा कस्तो होला ?

कृतिकार

साहित्यकार यथास्थिति दर्शाउने, अनुसन्धान गर्ने मात्र नभएर भविष्यको कल्पना गरी आफूलाई सोही अनुरूप ढाल्ने खालका हुँदा रहेछन् भन्ने माथिको मुक्तकले दर्शाउँछ । आफ्नी प्रेमिका वा भावी जीवन सङ्गिनीसँग बिताउने क्षणको अनुभव नगरेका तर मनमा उठेका भावनालाई योजनाबद्ध रूपमा उन्दै विवाहपछिको जीवनको जिज्ञासा आफ्नी पे्रमिका, भावी जीवनसङ्गिनीसँग राख्छन् । र, शब्दसँग लुकामारी खेल्दै जुनिभरको कल्पनामा रमाउँछन् ।

सधँै ठगिने सुदूरको, हिसाब खोज्दै छु
कति भयो खर्च भन्दै, जवाफ खोज्दै छु ।

बुझी सक्यौ चालामाला, लोभी मन नि थाहा पाइयो
विकास चाहियो भन्दै अब, निसाफ खोज्दै छु ।

मानिस जहाँ गए पनि आफू जन्मेको ठाउँ, बाल्यकालका साथीभाई बिर्सन सक्दैनन् । चाहे त्यो जस्तो सुकै सुखसुविधामा केही क्षणका लागि रमाए पनि एउटा साहित्यकारले त्यो परिवेश, ठाउँ, बाल्यकालका साथीभाई बिर्सन सक्दा रहेनछन् अनि जता गए पनि, जता बसेपनि आफ्नो ठाउँको माया लाग्दो रहेछ । जुन माया माथिको मुक्तकमा पोखिएको देखिन्छ । विगत पाँच वर्षदेखि उनी नेपालगन्जमा बस्दै आएका छन्, तर उनले आफ्ना धेरै मुक्तकमा सुदूरको चिन्ता व्यक्त गरेका छन् । आफ्नो ठाउँका सुदूरपश्चिमेली साथीभाईका लागि सरकारसँग त्यहाँको यथास्थिति दर्शाउन आफ्ना मुक्तकमार्फत् सरकारलाई झकझक्याइ रहे । उनीहरूको अवस्था अध्ययन, अनुसन्धान गर्दै सरकारसँग वकालत गरे । वास्तवमा लेखक समाजको दर्पण हो । जहाँ जोशी जस्ता साहित्यकार हुन्छन् त्यहाँको भौगोलिक, आर्थिक, सामाजिक अवस्था बुझ्न टाढा जानु पर्दैन । बस साहित्यकारका कृति पढे पुग्दो रहेछ भन्ने यथार्थ बुझाउन पनि जोशी सफल भएका छन् ।

नाउला पन छन्चरबार, सद्दाई जान्थ्यौ धेग्या ?
ताउला बोकी छन्चरबार, सद्दाई जान्थ्यौ धेग्या ?

हणमुन्टो घोइबर, सुकिलो त्यो लत्ता लाउन्ज्या
पाउला लगाई गोरु हेद्द, सद्दाई जान्थ्यौ धेग्या ?

उनले आफ्नो मुक्तक सङ्ग्रहमा आफ्नो मात्री भाषा डोटेली भाषाका पनि गजल समावेस गरेका छन् । उनले मुक्तक सङ्ग्रहमा डोटेली भाषाका मुक्तक सङ्ग्रहित गरेर भाषाको जगेर्ना पनि गर्न खोजेका छन् । अब उनकोे आगामी कृति, रचना पढ्न पाइयोस्, अन्य साहित्यिक स्रष्टा झैँ ओझेलमा नपरुन् भन्दै उनको निरन्तर लेखाइको कामना ।

प्रतिक्रिया दिनुहोस