पर्वत । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो लोकप्रियता बढाउनका लागि एमालेले राष्ट्रियताका विषयमा भ्रम फैलाएको आरोप लगाएका छन् ।
पर्वतको कुश्मास्थित सहिदस्मारक आवासीय माध्यामिक विद्यालयको आइतवार आयोजित रजतजयन्ती समारोहमा गृहमन्त्री निधिले एमालेले सङ्घीयता नचाहेकाले अनावश्यक भ्रम फैलाउने काम गरेको आरोप लगाए ।
निधीले मधेसलाई अर्को देशको देख्ने र हिमाल पहाडको दुरी बढाएर मुलुकमा अस्थिरता ल्याउने काम एमालेले गर्न खोजेको बताउँदै मधेसीले उठाएका जायज मागसमेत एमालेले पूरा गर्न नखोजेको बताए ।
गृहमन्त्री निधिले एमालेले सङ्घीयता नचाहेकाले अनावश्यक भ्रम फैलाउने काम गरेको आरोप लगाए ।
“संविधानको पूर्ण कार्यान्वयनका लागि मुलुकमा निर्वाचन गर्नुपर्ने अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता हो,” उनले भने– निर्वाचन गराउनका लागि भएपनि संविधान संशोधनमा सघाउन एमालेलाई आग्रह गरे ।
निधीले ‘संविधान संशोधनका लागि एमालेले पछिल्लो समयमा देखाएको लचकता सकारात्मक भएको बताउँदै संविधान कार्यान्वयनका लागि आगामी २०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सक्नुपर्ने भएकाले सोहीअनुरुप लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
संविधानको पूर्ण कार्यान्वयनका लागि आगामी एक वर्षभित्रमा सबै तहको निर्वाचन गर्ने तयारी सरकारको छ, उनले भने– निर्वाचनका लागि आवश्यक पर्ने कानुनको संशोधन गर्नुपर्ने भएकाले त्यससम्बन्धी विधेयक संसद्मा पेस गरिएको र केही दिन भित्रैमा त्यसले मूर्तरुप पाउनेछन् ।
निधीले सबै तयारी सकेर सरकारले वैशाख वा जेठको पहिलो सातामा नै चुनाव हुने मिति घोषणा गर्ने पनि बताए ।
तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले हस्ताक्षर गरेका विषय नै संशोधनका लागि दर्ता गरिएको बताउँदै उनले आफूले गर्दा राष्ट्रघात नहुने र आफू सरकार बाहिर रहेका बेला सत्ताधारी पार्टीले संशोधन दर्ता गराउँदा राष्ट्रघात भयो भन्नु जायज नभएको बताए ।
निधीले एमालेले अनावश्यक रुपमा संविधान संशोधनको विषयलाई उचालेको टिप्पणी गर्दै नागरिकता र भाषाका विषयमा पनि सहमतिमा संशोधनलाई परिमार्जन गर्न सकिने बताए । रासस