उर्लाबारी, मोरङ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले संविधान संशोधन प्रक्रियालाई थाती राखेर निर्वाचनमा जानुपर्नेमा जोड दिनुभएको छ ।
मोरङको विराटनगर विमानस्थलमा बिहिवार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले दलबीच छलफल गरी सहमतिमै संविधान संशोधन प्रस्ताव स्थगन गर्नुपर्ने र निर्वाचनमा जानु नै अहिलेको गतिरोध अन्त्यको उत्तम विकल्प भएको धारणा राख्नुभयो ।
उहाँले आगामी २०७४ माघ ४ भित्र तीनै तहको निर्वाचन गरिसक्नुपर्ने भएकाले निर्वाचनको तयारीमा सरकार तीव्रताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– “मधेसी मोर्चाका केही नेताले पहाड र तराईलाई छुट्याउन खोजेका छन्, नेपाल सबै जातजातिको देश भएकाले हिमाल, पहाड र तराईलाई कुनै पनि हालतमा छुट्याउन हुँदैन ।” रासस