राष्ट्र बचाउन प्रखर रुपले जाग्नु पर्ने बेला आएको पूर्वराजा ज्ञानेन्द्रको भनाइ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र बचाउन प्रखर रुपले जाग्नु पर्ने बेला आएको पूर्वराजा ज्ञानेन्द्रको भनाइ


प्रशासन विशेष ब्युरो

६ पुस २०७३, बुधबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले समय छदै राष्ट्र बचाउन सबैलाई मुखर र प्रखर रुपले लाग्न आव्हान गरेका छन् । बुधबार विज्ञप्तिमार्फत पूर्व राजा ज्ञानेन्द्रले अझै जनताको आस्थाको धरोहर नढलेको भन्दै सबै नेपालीले, राष्ट्रलाई बचाउन फेरि एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन र प्रखर रुपले जाग्नु पर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आज हामी जुन माटोमा जन्मिएर कर्म क्षेत्रमा क्रियाशील छौ, त्यो श्रद्धा र आस्थाका धरोहर पूर्खाहरुको वलिदान, अदम्य साहस र रगत पसिनाबाट आर्जित पवित्र भूमि हो ।

हामीलाई सिंगो, संगठित, अविभाजित, सार्वभौम नेपाल दिएर जाने पूर्खाहरुले सुम्पिएको राष्ट्रलाई जोगाउंदै समृद्ध, समुन्नत र सुदृढ बनाउनु हाम्रो मुल दायित्व एंव कर्तव्य हो । तर वर्तमान अवस्थामा मूल्यमान्यतामा आधारित राजनीति नहुनु, शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आउनु र आपराधिक कार्यले नेपाली समाज प्रताडित बनिरहेको छ । दिनानुदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको छ ।

‘ पुर्वराजा ज्ञानेन्द्रले नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ भन्दै आज नेपालीबीचको सामाजिक सद्भाव मेटिदै छ भने, तराई, पहाड र हिमाल माझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको उल्लेख गरेका छन्। उनले ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी आदि शब्दभावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरब मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य पनि बनि रहेको बताएका छन् ।

निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु किमार्थ बलिया हुन सक्दैनन् भन्दै उनले इतिहास कलंकित गर्दै निश्चित, निहीत स्वार्थ पुरा गर्न गरिएको कार्यहरु कदापि प्रसंशित हुन नसक्ने बताएका छन् ।

माटो र मुटुसँग जोडीएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताको दुहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन नसक्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ , ‘नेपालको स्थाथी सत्ता भनेकै राष्ट्र र राष्ट्रबासी नै हुन् । त्यसैले यसलाई सबल पार्ने भाषा, धर्म संस्कृति, इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग हो । त्यो नै सार्वभौम सत्ताको मुल आधार हो । नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णुता, सहअस्थित्व र पद्धति जोडिएको यावत विषय नै लौकिक सत्ता हो ।

दूर्भाग्यवस आजको सन्दर्भमा वाह्य शक्तिको अनुचित प्रभावमा अस्थाथी सत्ताहरु हावी गराएको छ भने, स्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धूमिल पारिएको छ । ‘ विज्ञप्तीमा पूर्वराजाले, ‘अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् भन्दै नेपाली मन मतिष्कमा देशभक्तिको भावना ढलेको छैन ।

सबै नेपालीले, राष्ट्रलाई बचाउन फेरि एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन्न मुखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ । राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाटनै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं ! समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन ।’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस