प्रदेश सरकारको कर्मचारी भएर जाँदा एक तह बढुवाको माग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश सरकारको कर्मचारी भएर जाँदा एक तह बढुवाको माग


प्रशासन विशेष ब्युरो

५ पुस २०७३, मंगलबार


काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनका नवनिर्वाचित अध्यक्ष केदारप्रसाद देवकोटाले कर्मचारी प्रदेश सरकारमा जाँदा एक तह बढुवा हुनुपर्ने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठनको १० औं राष्ट्रिय अधिवेशनबाट नवनिर्वाचित केन्द्रिय कार्यसमितिद्वारा मंगलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष देवकोटाले हामी केन्द्रिय सरकारको रुपमा कार्यरत कर्मचारीहरु प्रान्तीय तथा प्रदेश सरकारको मातहतको कर्मचारीको रुपमा जाँदा अवश्य नै हामीलाई उत्प्रेरित गरेर पठाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष देवकोटाले भन्नुभयो–“हाम्रा सामाजिक सुरक्षाका कुराहरु, सेवा सुविधाका कुराहरु अहिले जे व्यवस्था छ त्यो घट्नु पनि हुँदैन र हामी प्रदेश सरकारको कर्मचारीको रुपमा जाँदा एक तह बढुवा पाउनु पर्छ भन्ने मान्यता हाम्रो निरन्तर रहन्छ, त्यो भन्दा घटीमा हामी जानेवाला छैनौं” । केन्द्रिय सरकारले जसरी व्यवस्थापन गरिरहेको छ, नयाँ निर्माण हुने प्रदेश सरकारले हामीलाई त्यो व्यवस्थापन गर्छ कि गर्दैन ? २० वर्षमा पेन्सन पाउने कुरा, ५ वर्ष पछि उपदान पाउने कुरा, निवृत्तिभरण, औषधि उपचार तथा विभिन्न भत्ता लगायतका कुराहरु त्यहाँको सरकारले दिन्न भन्छ कि ? त्यस्तो अवस्थामा हामीलाई अफ्ठेरो हुन्छ जुन अहिले राज्यले व्यवस्था गरिराखेको कुरा भोलि भएन भने के गर्ने ? यो बिषयमा सोच्नु पर्ने देवकोटाको भनाइ छ ।

उहाँले भन्नुभयो “यो अहिले मात्रै लागु नहुने भन्ने कुरा रहन्न । विगतमा संसदमा काम गर्ने कर्मचारी निजामति कर्मचारी थिए, जुन बेला संसद सेवा गठन भयो त्यहाँ कर्मचारीलाई संसद सचिवालमै काम गर्ने वा बाहिर जाने भन्दा संसदमै बस्ने कर्मचारीहरुलाई एक तह बढुवा दिने, बाहिर जाने कर्मचारीलाई सरुवा गरिदिने भन्ने सरकारको नीति बन्यो र एक तह बढुवा भएका सबै साथीहरु संसदमा काम गरिरहेका छन् । हवाइ कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई हवाइ प्राधिकरण गठन गर्दाखेरी नै बढुवा गरेर लगिएको छ, त्यस्तै शसस्त्र प्रहरी बल गठन हुँदा पनि एक तह बढुवा गरेर लगिएको छ । यस्ता प्रसस्तै उदाहरण छन् त्यसैले एउटा क्षेत्रबाट अर्को क्षेत्रमा कर्मचारी पदस्थापना गर्दाखेरी उनिहरुको मनोबल बढाउन एक तह बढुवा अनिवार्य रहन्छ ।”

संघीयतामा कर्मचारी व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठनले एउटा विज्ञ समूह नै गठन गरेर त्यसैको आधारमा एउटा धारणा बनाउने र उक्त सुझावलाई नेपाल सरकार समक्षा पेश गर्दै आवश्यक दबाब सिर्जना गरिने पनि देबकोटाले बताउनुभयो ।

उहाँले हाल कर्मचारीमा देखिएका मुख्य समस्याहरु सरुवा, काज र बैदेशिक भ्रमण, अध्ययनलगायत अनेक खालका जतिपनि अवसरहरु छन् ति समानरुपमा नभइ स्वविवेकीय तवरले भइरहेकोले अब त्यसलाई अधिकार प्रयोग गर्न नपाउने, त्यो भन्दा बाहिर गइ कुनै पनि निर्णय गरेमा निर्णयकर्ता भागेदार हुने मापदण्ड सहितको निजामती सेवा ऐन नियमावलीको व्यवस्था बनाउने कुरामा लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो “तीन वर्षे कार्यकालमा ट्रेड युनियनका नेता हुन् वा पार्टिका नेता हुन् वा सचिव वा मेरा मान्छे हुन् भनेर सरुवाको निम्ति, काजको निम्ति सिंहदरबारभित्र निबेदन लिएर जान नपर्ने व्यवस्था मिलाउनको लागि संगठनको तीन वर्षे कार्यकाल लाग्ने कुरा अनुरोध गर्न चाहन्छु ।”

साथै अहिलेको निजामति सेवामा रहेको ५८ वर्ष सेवा अवधिलाई ५८ मै राख्ने या यसलाई ६० वर्ष बनाउने भन्ने विषयमा दुई खालका कुरा आइरहेको अवस्थामा हालको ५८ वर्षलाई ६० वर्ष पुर्याउनु पर्ने नेपाल निजामति कर्मचारी संघको स्पष्ट धारणा रहेको अध्यक्ष देवकोटाले बताउनुभयो ।

जहाँसम्म किन ६० बनाउने भन्ने कुरा छ त्यसमा आज नेपालीको औषत आयु बढेर ६९ पुगेको अवस्था छ । स्वास्थ्य सेवा ऐनमा ६० वर्षसम्म जागिर खान पाउने व्यवस्था छ । प्रोफेसरले ६३ वर्षसम्म सेवा गर्न पाउँछ त्यसैगरी न्याय र संवैधानिक क्षेत्र लगायतमा पनि ६० भन्दा माथि नै भएकोले निजामतीमा पनि ६० बनाउनु पर्छ भन्ने मान्यताका आधारमा पनि नेपाल कर्मचारी संगठनले ६० नै हुनुपर्छ भनेको हो । ५८ वर्ष हुँदा ११ वर्ष पेन्सन दिनुपर्ने अवस्था छ भने ६० बनाउँदा ९ वर्ष मात्रै हुने भएकोले राज्यलाई पनि फाइदा छ ।

ट्रेड युनियनका नेताहरुले दादागिरी गर्छन्, निर्णय प्रक्रियामा दबाब पार्छन्, भनेको जस्तो निर्णय गर्न दिँदैनन्, समयमै काम सम्पन्न गर्न दिँदैनन् भन्ने खालका जुन आरोप छ यो तीन वर्षे कार्यकालमा ब्यूरोक्र्याट्सबाट यसको अन्त्य गर्छौ । हामी नीतिमा, निजामति सेवा ऐन, नियम, स्वास्थ्य सेवा तथा स्थानीय स्वायत्त शासन ऐन नियम लगाएतमा संशोधनको लागि दबाब सिर्जना गर्छौ गर्छौ तर व्यक्तिगत कामका निम्ति बाधा अड्चन पुर्याउने काम हामी गर्दैनौं । प्रशासनिक तथा राजनैतिक नेतृत्वसंग कुटनैतिक व्यवहार हुन्छ । बिगतमा देखा परेको धम्कि, गालिगलौच, थर्काएर, टेबुल ठोकेर काम लिने प्रवृतिको अन्त्य गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस