सिडियो सा’प रोक्ने हैन यो बेथिति ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिडियो सा’प रोक्ने हैन यो बेथिति ?


प्रशासन विशेष ब्युरो

३ पुस २०७३, आइतबार


दार्चुला । रक्सी, रक्सी र रक्सी । यही एउटा रक्सी भैरहेको छ दार्चुलावासीको प्रगतिको वैरी, स्वास्थ्यको दुश्मन !

आर्थिक बरवादी र ज्यानै जाने कारण । उहिल्यैदेखिको यो मान सिर्जित विकृति अझै भएन अन्त्य । बरु कानुनी बन्देजलाई खुल्लम्खुल्ला चुनौति दिने बेथिति पो बन्दैछ, अघोषित संस्कृति ।

मदिरा निषेधित भनिएका दार्चुलाका दर्जनौं गाविसहरुमा खुलेयाम मदिरा विक्री भइरहेको छ । अझ सरकारी कार्यालय परिसर र आसपासका क्षेमा नै यो खुल्ला बिक्री हुनु झन् कहालि लाग्दो छ ।

मदिरा विक्री वितरण गर्न इजाजत लिनुपर्ने प्रावधान भए पनि व्यवसायीहरुले मदिरा इजाजत नलिएरै मदिरा विक्री गरिरहेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका अनुसार जिल्लाका ३६ गाविस मध्ये ९ गाविस मदिरा निषेधित क्षेत्र छन् ।

जिल्लाका १४ गाविसमा मदिरा विक्री वितरणको लागि इजाजत नलिएको पाइएको छ । दार्चुलाको मालिकार्जुन, खण्डेश्वरी, घुसा, गुल्जर, खरकडा, बोहरीगाउँ, हुती, पिपलचौरी, र ग्वानीगाविस मदिरा निषेधित गाविस हुन् । यस्तै हुनैनाथ, शेरी, धुलीगडा, धारी, धौलाकोट, राप्ला, डाडाकोट, सर्मौली, रिठाचौपाता, तपोवन, रानिशिखर र व्यास गाविसमा अहिलेसम्म मदिरा विक्रीवितरणको लागि पसलहरु दर्ता गरिएको छैन । यी गाविसले अहिलेसम्म मदिरा विक्री वितरणको लागि इजाजतपत्र पनि लिएका छैनन् ।

तर यी गाविसहरुमा खुलेयाम बिदेशी ब्रान्ड देखि स्थानीय घरेलु मदिरा नै मदिरा विक्रीवितरण भइरहेको स्थानीयले बताएका छन् ।

आखिर किन यस्तो विकृति र वेथिति मौलाईरहेको छ त ? सरकारी निकायको कडा अनुगमनको अभाव तथा स्थानीयको मदिराविरोधी अभियानको अभाव नै हुन् यी बेथितिका मुल र मुहान ।

अब मात्रै पनि यस्ता बेथिति रोक्न सरकारी निकाय र स्थानीयले हातमा हात, काँधमा काँध मिलाएर संयुक्त रुपमा मदिरा विरोधी अभियान तिव्र पार्न ढिला नगर्ने हो की ? आखिर मदिराको खुल्ला बिक्रीको चुनौति सबैको लागि साझा चुनौति हो नी हैन त ?

प्रतिक्रिया दिनुहोस