म एक्लो छैन, नेपाली जनता मेरा पछाडि छन् । - प्रशासन प्रशासन

म एक्लो छैन, नेपाली जनता मेरा पछाडि छन् ।


प्रकाशित मिति : ९ मंसिर २०७३, बिहीबार ०८:५८

कुराकानीकालागि पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले हामीलाई लागि साँझ पाँच बजेको समय दिनुभएको थियो । हामी सोधखोज गर्दै उहाँ बस्ने घर पुग्दा उहाँ हामीलाइ लिन बाहिर निस्कनुभयो । भित्र पुगेर कुराकानी गर्दै गर्दा हामीलाई लागेको थियो त्यो कोठा त उहाँको भेटघाट कक्ष हो । कुराकानीको अन्त्यमा मात्रै थाहा भयो कि यो त उहाँको सुत्ने कोठा पो रहेछ ।

सानो कोठा, कम्प्यूटर टेवल, बेड, दराज अनि पूजाआजा गर्न सानो मन्दिर, एउटा खाना खाने टेवल, प्लाष्टिकका कुर्सी सवै अटाएका थिए । भित्रपट्टी सानो भान्साकोठा रहेछ । टेलिभिजनसमेत रहेनछ उहाँको । कम्प्यूटरमा टिभी कार्ड हालेर टिभी हेर्ने गर्नुभएको कुरा उनि बताउदै थिए । अनि हामीले निजी व्यक्तिगत जीवनका बारेमा कुरा गर्दै गर्दा उहाँ पटक पटक भावविभोर हुनुभयो । उहाँले त्यसलाई लुकाउन खोजेपनि उहाँको आँखामा टिलपिलाउने गरेको आँशुले स्पष्टै देखिन्थ्यो । खै किन हो कुन्नी हामीले त्यसका बारेमा त सोधेनौ तर उहाँलाई पक्कै दुःख लागेको जस्तो लाग्यो र नितान्त व्यक्तिगत कुरालाई हामीले सोधेनौं । यस्तो राम्रो कामगर्दा पनि जस नपाइने कस्तो देश होला भन्ने लाग्यो होला सायद । सा¥है सादगी जीवन लाग्यो पूर्वमन्त्री पण्डितको । त्यसपछि हामीले यसरी सोध्यौ उहाँलाई निजी जीवनका बारेमा:

कति साधारण हो जीवनशैली ?
मैले अतिरिक्त लाभ लिएको भए वा धनी परिवारबाट राजनीतिमा आएको भए वा पुस्ताको राजनीतिक बिँडो थामेको भए पो तडक भडक गर्न सक्नु । म त गरिव परिवारबाट आएको, नैतिकता नविर्सेको र राष्ट्र निर्माणमा लागेको अनि सकारात्मक रुपमा अघि बढेको व्यक्ति हुँ । म के चाहन्छु भने मीठो खाएर, सुविधासम्पन्न गाडी चढेर, बढी खर्च गरेर, अपराधकर्म गरेर धन कमाउनेले देश कहिल्यै परिवर्तन गर्न सक्दैन । त्यसैले ठीकै छ मलाई यो जीवनशैली ।


मीठो खाएर, सुविधा सम्पन्न गाडी चढेर, बढी खर्च गरेर, अपराध कर्म गरेर धन कमाउनेले देश कहिल्यै परिवर्तन गर्न सक्दैन ।

 

 

तपाइँकै पार्टीका नेता विलासी जीवन विताउँछन् र तपाइँ किन यस्तो ?
सबै म जस्तो हुनुपर्छ भन्ने छैन । म आफ्नो विचारप्रति अडिग छु । अपराधकर्म गरेर कमाउनेलाई दण्ड दिनुपर्छ । जनताले पनि त्यस्ताको पछि लाग्नु भनेको आफ्नै खुट्टामा बन्चरोले हान्नु सरह हो ।

सार्वजनिक सवारी प्रयोग गर्नुहुन्छ नि ?
आफ्नो प्रतिष्ठा घट्छ भनेर मन्त्री बनेकाहरु सार्वजनिक सवारी चढ्न हिच्किचाउँछन् । तर मलाई कहिल्यै त्यस्तो फिलिङ् भएन । म पनि त नेपाली हो । यतिधेरै नेपाली सार्वजनिक सवारी चढ्दा म किन चढ्न नहुने ? नेपाल यातायात चढ्दा एक पटक मेरो मोवाइल चोरी भयो । यसबाट के थाहा पाएँ भने यहाँ सवै सज्जनपनि रहेनछन् ।


नेपाल यातायात चढ्दा एक पटक मेरो मोवाइल चोरी भयो । यसबाट के थाहा पाएँ भने यहाँ सबै सज्जन पनि रहेनछन् ।

 

 

मासिकखर्च कतिहुँदो रहेछ ?
हामी तीन जनाको परिवार छौं म, श्रीमती र छोरी । प्रायः घरमै खाना खान्छौं । कहिलेकाही कार्यक्रममा गएका बेला बाहेक । मेरो अनुमानमा मासिक बीस हजार रुपैयाँले सबै खर्च पुग्छ ।

भावीजीवन कसरी बिताउदै हुनुहुन्छ ?
राष्ट्रप्रति समर्पित भएर लागिरहेको छु । बाँचुन्जेलसम्म समाजमा केही न केही गरेर बस्छु । कुर्सीमै बसेर मात्र होइन । बाहिर बसेर पनि धेरै काम गर्न सकिन्छ । प्रकृतिले हामीलाई धेरै दिएको छ । हामीले मागेर मुलुक बन्दैन । निरासाले सुखी जीवन दिंदैन । परनिर्भरता हटाऔं । निरिह बनेर कतै नजाऔं ।


म एक्लो छैन, नेपाली जनता मेरा पछाडि छन् ।


 

गोर्खा नदेख्नेले गोर्खालीका कुरा नगरौं
गोर्खा नदेख्नेले वीर गोर्खालीको ऐतिहासिक गाथा नगाऔं । यस्ताले गोर्खाली हौं भनेर छाती पिट्नु बेकार छ ।

विवाहगर्ने सोच कसरी आयो ?
विवाह भनेको एक अर्काको परिपूरक हो । तर म विवाह नगर्ने सोचमा थिएँ । एक पटक यस्तो विरामी भएँकि एक दिनमा चालीस पटक पखाला चल्यो । घरपेटीले औषधी ल्याएर खुवाए । उनले भने आज त मैले औषधी ल्याएर खुवाएँ । फेरि अर्को पटक यस्तो भयो भने कसले औषधी खुवाउँछ भनेर भने । त्यसपछि हो साँच्चै एक्लो जिन्दगी विताउन त गा¥हो हुने रहेछ जस्तो लाग्यो र विवाह गर्ने सोच वनाएँ र विवाह भयो । परिवार भयो भने सवै कुरा मिलेर गर्न सकिने रहेछ । मलाई ज्यानमार्ने धम्की आउँदा परिवारले कन्भीन्स गरे । म एक्लो छैन, मेरो परिवार छ म सित भन्ने सोचेँ अनि नेपाली जनता मेरा पछाडि छन् भन्ने लाग्यो । सकारात्मक सोच पनि त रहेछ नि परिवार भनेको ।


मेरो अनुमानमा मासिक बीस हजार रुपैयाँले सबै खर्च पुग्छ ।


 

तर्किएर समाज परिवर्तन हुन्न
तर्किएर समाज परिवर्तन हुन्न । २०३७ सालमाम चोभार गएको थिएँ । त्यहाँको ओढारमा अलग निरञ्जन भन्दै एक जना बाबा बस्दा रहेछन् । अनि मैले उनलाई सोधें किन याहाँ बसेको, के खान्छौ, कसरी बसिरहेका छौ…आदिआदि । उनले उत्तर दिएकि बाहिरी संसार खराव छ त्यसैले म यहाँ बसेको । आखिर उनी त्यही चोभारका बासिन्दाकोमा गएर मागेर ल्यार खाने गर्दा रहेछन् । अनि मैले भनें बाहिरी संसार खराव छ भन्ने अनि तिनीहरुकै घरमागएर मागेर खाने अनि तपाइँ कसरी राम्रो हुनुभयो त ? उनी अनुत्तरित भए ।

जीवन संगीनीलाई एउटै चिन्ता
जीवन संगीनी विमला पण्डितलाई एउटै चिन्ता छ कि श्रीमान्लाई बाटोमा हिड्दा वा सार्वजनिक सवारी चढ्दा कसैले होच्याएर बोल्छन् कि भन्ने । नचिनेर कसैले केही नराम्रो बोल्ला कि, तितो केही सुन्नुपर्छ कि भन्ने चिन्तालाग्दो रहेछ ।

लालबाबु पण्डित पूर्व सामान्य प्रशासनमन्त्री हुन् ।

प्रतिक्रिया दिनुहोस