आप्रवास सङ्कट : अमेरिकी थुनामा फेरि आठ वर्षीय बालकको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आप्रवास सङ्कट : अमेरिकी थुनामा फेरि आठ वर्षीय बालकको मृत्यु


११ पुस २०७५, बुधबार


वासिङटन । संयुक्तराज्य अमेरिकाको प्रहरी थुनामा फेरि ग्वाटेमालाका आठ वर्षीय बालकको मृत्यु भएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले जनाएको छ । यही महिना अमेरिकी थुनामा बच्चाको मृत्यु भएको यो दोस्रो घटना हो ।

यही डिसेम्बर ८ मा ग्वाटेमालाकी एक आठ वर्षीया बालिका जेकेलिन कालको अमेरिकी प्रहरी थुनामै मृत्यु भएको थियो । सीमा सुरक्षा निकायले सोमबार बालक बिरामी भएको थाहा हुनासाथ न्यू मेक्सिको मेडिकल सेन्टरमा उपचारका लागि पठाइएको जनाएको छ । मेक्सिकोबाट अमेरिका प्रवेश गरेका बालक सँगै उनका बाबुलाई प्रहरीले पक्राउ गरेको थियो ।

शुरुमा बच्चालाई चिसो लागेको अनुमान गरिएको थियो, तर पछि जाँच गर्दा ज्वरो आएको पत्ता लागेको थियो । अस्पतालमा बच्चालाई ज्वरो हुँदा खुवाइने इबुप्रोफेन र एमोक्सिसिलिन दिइएको थियो । तर ज्वरो घटेन । बच्चाले पुनः वान्ता गर्नुका साथै रिङ्गटा लागेको अनुभव गरेका थिए । मध्यरातमा ती बालकको मृत्यु भएको थियो ।

ग्वाटेमाला सरकारले बालकको मृत्युका बारेमा विस्तृत अध्ययन गर्न अमेरिकी सरकारसमक्ष आग्रह गरेको छ । बच्चाको मृत्यु भएपश्चात् सामाजिक सञ्जालमा अमेरिकी अधिकारीहरुको चर्को आलोचना भएको छ । ‘अमेरिकी प्रशासनको अघिल्तिर अर्को एक बच्चाको प्राण गएको छ,’ टेक्सासबाट डेमोक्राटिक कङ्ग्रेस सदस्य मार्क भेसीले ट्वीट गरेका छन् । ‘क्रिसमसका दिन यस्तो हृदयविदारक समाचार सुन्नुपर्‍यो ।’

‘यो समाचारले दुःखी र विचलित बनाएको छ,’ न्यू मेक्सिकोका सिनेटर मार्टिन हेनरिकले ट्वीटमा भने । ‘यो घटनाका बारेमा विस्तारपूर्वक तत्कालै जानकारी दिइनु पर्दछ, र ट्रम्प प्रशासनलाई बच्चाको मृत्युप्रति जवाफदेही बनाउनै पर्दछ ।’

यी बालकको मृत्यु त्यस्तो दिन भएको छ जुन दिन यसै महिनाको शुरुमा अमेरिकी थुनामा मृत्यु भएकी ग्वाटेमालाकी बालिका जेकेलिन कालको दाहसंस्कार गरिएको छ ।

ती बालिकाको शव आइतबार ग्वाटेमाला ल्याइएको थियो । लामो यात्रापछि बालिकाको शव दुर्गम गाउँमा पुर्‍याइएको थियो । उनको गाउँमा विद्युत र अरु आधारभूत सुविधा केही उपलब्ध छैनन् ।

‘ती बालिका पनि अमेरिकामा सुनौलो सपना साँचेर बाबुआमासँगै अमेरिकातर्फ हिँडेकी थिइन्, तर उनको सपना बाटोमै टुङ्गियो,’ स्थानीय गाउँबासी अल्बर्टो पोपले बताए । ‘तपाइँले सुन्नुभएको होला संयुक्तराज्य अमेरिकामा राम्रै कमाइ हुन्छ, र ग्वाटेमालाका कम्पनीमा जस्तो अमेरिकामा अवश्य हुँदैन । त्यही कारण मानिसहरु अमेरिका जान चाहन्छन्,’पोपले भने । अमेरिकी सपनाको खोजीमा उनका २२ वर्षीय छोरा जोकिन नोभेम्बरमा अमेरिकातर्फ लागेका थिए ।

उनले भने, ‘मेरो छोरो म¥यो कि बाँच्यो मलाई थाहै छैन ।’

‘दुर्भाग्यवस, आप्रवासीमाथि अमेरिकी सरकारले गरेको यस्तो दुव्र्यवहारको मुख्य कारण नै हाम्रो देशमा आर्थिक स्रोतसाधनको चरम अभाव हो,’जेकेलिनको दाहसंस्कारमा उपस्थित मारियो कालले भने ।

जेकेलिन कालको डिसेम्बर ८ मा भएको मृत्युले अमेरिकी समाजमा ठूलो बहस सिर्जना गरेको थियो । खासगरी अमेरिकी आप्रवासी नीति र आप्रवासीमाथि अमेरिकी सरकारले गरेको व्यवहारलाई लिएर अमेरिकी राष्ट्रपतिको चर्को आलोचना भइरहेको छ ।

ग्वाटेमाला, होन्डुरस, मेक्सिको समेतका मध्य अमेरिकी देशहरुबाट ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेशका लागि हाल संयुक्तराज्य अमेरिका र मेक्सिको सीमामा धर्नामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस