युवा स्वरोजगार कोषको व्याज रकम ऋणीलाई फिर्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

युवा स्वरोजगार कोषको व्याज रकम ऋणीलाई फिर्ता


२३ मंसिर २०७५, आइतबार


भक्तपुर । सरकारले सहकारी मार्फत सहुलियत ऋण प्रदान गरी युवालाई स्वरोजगार बनाउन ल्याएको युवा स्वरोजगार कोष अन्तर्गतको ऋण लगानीको व्याज रकम फिर्ता गरेको छ । सहकारीमार्फत प्रदान गरेको ऋण भुक्तानी भएपश्चात कुल व्याजको ६० प्रतिशत रकम कोषले ऋणीलाई फिर्ता गरेको हो ।

चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित युवा बचत तथा ऋण सहकारी संस्था लि.मार्फत लगानी गरेको ५० लाख ऋणको व्याज रकम ऋणीलाई नै फिर्ता गरेको छ । युवा साकोसमा आवद्ध २८ जना सदस्यहरुले लिएको ऋणको ३ लाख ४९ हजार रुपैयाँ व्याज रकम कोषले फिर्ता गरेको छ ।

व्याज रकम फिर्ता कार्यक्रममा बोल्दै युवा साकोसका अध्यक्ष प्रल्हाद बास्तोलाले कोषले प्रदान गरेको ऋणबाट चाँगुनारायणका ५, ६ र ७ नं. वडाका युवाहरु स्वरोजगार बन्न प्रोत्साहित गरेको बताए । उनले दोस्रो किस्ता अन्र्तगत कोषले युवा सहकारीलाई ७५ लाख प्रदान गरेको र सो रकम पनि ३ वटै वडाका युवाहरुमा स्वरोजगार कार्यक्रम अन्र्तगत लगानी गरिएको जानकारी दिए ।

व्याज रकम फिर्ता कार्यक्रममा संस्थाका सचिव सोम शर्मा (बजगाईं), कोषाध्यक्ष प्रकाश बास्तोला, लेखा संयोजक जयराम बास्तोला, व्यवस्थापक बिनोद लामिछाने लगायतले युवा स्वरोजगार कोषले सहकारी मार्फत प्रदान गरेको सहुलियत ऋणको दायरा बढाउन सके युवा विदेश पलायन रोक्न मद्दत पुग्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस