काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा नयाँ सदस्यका रूपमा हिक्मतजंग कार्कीलाई मनोनीत गरेको छ।
काठमाडौँ निवासी कार्कीलाई पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीको निर्णयअनुसार विभाग सदस्यको जिम्मेवारी दिइएको हो। उक्त विभागको नेतृत्व परराष्ट्र मन्त्री शिशिर खनालले गरिरहेका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक क्षेत्रसँग सम्बन्धित अनुभव भएका कार्कीले विश्वका विभिन्न लोकतान्त्रिक युवा सञ्जालसँग आबद्ध संस्थामा सह-अध्यक्षको भूमिकासमेत निर्वाह गरेका थिए। शैक्षिक रूपमा उनले बेलायतस्थित युनिभर्सिटी अफ इस्ट लन्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिक शास्त्रमा स्नातक अध्ययन पूरा गरेका हुन्।
कार्कीले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न नीति-सम्बन्धी छलफल र संवादमा सक्रिय भूमिका निर्वाह गरेका छन्। पोल्यान्डमा सम्पन्न संयुक्त राष्ट्रसंघीय ‘वर्ल्ड अर्बन फोरम’, संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसी तथा न्यूजील्याण्डमा आयोजित प्रजातान्त्रिक फोरमजस्ता कार्यक्रमहरूमा उनको सहभागिता रहेको थियो। साथै, फिनल्यान्ड, जर्मनी, मोरक्को र बेलायतका विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा पनि उनले नेपालको प्रतिनिधित्व गरेका थिए।







