काठमाडौँ । इन्धन तथा निर्माण सामग्रीमा भएको तीव्र मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले सडक विभाग र जलस्रोत क्षेत्रसँग सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै धर्ना कार्यक्रम गरेको छ ।
मूल्यवृद्धिका कारण देशभरका विकास आयोजना सञ्चालनमै संकट देखिएको भन्दै महासंघ र एसोसिएट सदस्य समन्वय समितिले बिहीबार संयुक्त रूपमा विरोध कार्यक्रम गरेको हो ।
यस क्रममा व्यवसायीहरूले सडक विभागका महानिर्देशक विजय जैसी र सिँचाइ विभागका उपनिर्देशक डा. सन्तोष कैनीलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
महासंघका महासचिव शिवहरि घिमिरेले सरकारसँग पटक-पटक माग राखिए पनि सम्बोधन नभएकाले आन्दोलनमा उत्रिनु परेको बताए । उनका अनुसार निर्माण क्षेत्र हाल अत्यधिक लागत दबाबका कारण गम्भीर संकटमा पुगेको छ ।
उनले बजार मूल्यअनुसार ठेक्का रकम पुनः समायोजन गर्नुपर्ने, रोकिएका आयोजनाको म्याद २०८४ असारसम्म विस्तार गरी कार्यान्वयन सहज बनाउनुपर्ने तथा आगामी बजेटमा स्पष्ट शीर्षकसहित भुक्तानी व्यवस्था सुनिश्चित गर्नुपर्ने माग राखे ।
घिमिरेले आन्दोलनकै क्रममा व्यवसायीमाथि भइरहेको भनिएको धरपकडप्रति पनि आपत्ति जनाउँदै अनुसन्धानका नाममा हुने अनावश्यक दबाबले लगानी वातावरण कमजोर पार्ने चेतावनी दिए ।
उनका अनुसार हालको मूल्यवृद्धिलाई थेग्न नसक्ने अवस्था बनेको छ र समाधान नहुँदा काम रोक्न बाध्य हुनुपरेको हो । साथै बैंक ग्यारेन्टी, इन्स्योरेन्स तथा म्याद थपजस्ता विषयमा सरकारको स्पष्ट निर्णय आवश्यक रहेको उनले बताए ।







