काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदमा नियुक्तिका लागि प्रस्तुतीकरण तथा अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको छ ।
प्रारम्भिक परीक्षाबाट छनोट भएका २४ जनाको नाम सार्वजनिक गर्दै मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत सञ्चालक सदस्य नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता वैशाख २७ गते आइतबार सञ्चालन हुने जनाएको छ ।
सूचना अनुसार प्रस्तुतीकरण तथा अन्तर्वार्ता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबारमा हुनेछ ।
मन्त्रालयले उम्मेदवारहरूलाई आवेदनसँग पेश गरेका सम्पूर्ण कागजातको सक्कलसहित तोकिएको समयभन्दा ३० मिनेट अगाडि उपस्थित हुन आग्रह गरेको छ । साथै, उम्मेदवारहरूले पावरपोइन्ट वा अन्य माध्यम प्रयोग गरी १० मिनेटभित्र प्रस्तुतीकरण गर्नुपर्ने र त्यसपछि तत्काल अन्तर्वार्ता सञ्चालन गरिने जनाइएको छ ।









