काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट धारणा, प्रतिबद्धता र सहयोगको सन्देशले निजी क्षेत्रको घट्दो आत्मविश्वास पुनः सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँमा आयोजना गरेको निजी क्षेत्रसँगको अन्तरक्रिया कार्यक्रममा उनले लगानी विस्तार, उद्यमशीलता प्रवर्द्धन र व्यावसायिक गतिविधि बढाउन राज्य तथा राजनीतिक दलहरूको सहकार्य अपरिहार्य रहेको बताए।
ढकालका अनुसार रोजगारी सिर्जना, राजस्व संकलन तथा पूर्वाधार विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ। यस्तो अवस्थामा राजनीतिक नेतृत्वबाट आउने सकारात्मक सन्देशले उद्योगी व्यवसायीमा नयाँ उत्साह पैदा गर्ने उनले उल्लेख गरे।
उनले परम्परागत ढाँचामा सञ्चालन हुँदै आएका केही प्रणाली सुधार गर्ने क्रममा केही अन्योल देखिए पनि निजी क्षेत्रलाई साथ दिने तथा सार्वजनिक प्रतिबद्धताअनुसार अघि बढ्ने नेतृत्वको अभिव्यक्ति सकारात्मक रहेको बताए।
अध्यक्ष ढकालले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर देखिएको अवस्थामा स्पष्ट राजनीतिक संकेतले थप लगानी आकर्षित गर्न, व्यवसाय विस्तार गर्न तथा आर्थिक समृद्धिको लक्ष्यतर्फ अघि बढ्न सहयोग पुग्ने धारणा राखे।
उनका अनुसार नेतृत्वबाट प्राप्त मार्गदर्शन र सहकार्यको आश्वासनले निजी क्षेत्रको आत्मबल बढ्नेछ र त्यसले राष्ट्रिय अर्थतन्त्रमा ठोस योगदान पुर्याउनेछ।
राज्य र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य कायम भएमा मात्रै दिगो आर्थिक समृद्धि हासिल गर्न सकिनेमा उनले जोड दिए।







