काठमाडौँ । अवैध क्रिप्टोकरेन्सी कारोबारसम्बन्धी अनुसन्धानका क्रममा एक भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध करिब एक अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बराबरको डिजिटल मुद्रा कारोबार गरेको आरोप लागेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकले प्राप्त सूचनाका आधारमा गत शुक्रबार उक्त समूहलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारतको पश्चिम बंगालस्थित मोदिनीपुर जिल्लाका स्थायी बासिन्दा भई ललितपुर एकान्तकुना बस्दै आएका ४१ वर्षीय प्रवेश अलि, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० घर भई हाल काठमाडौँ जोरपाटी बस्ने ३१ वर्षीय नरेश रेउले तथा सर्लाहीको ईश्वरपुर नगरपालिका-३ का ३० वर्षीया दीप्ति पोखरेल रहेका छन्।
प्रहरीका अनुसार रेउलेलाई शुक्रबार दिउँसो करिब साढे २ बजे सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गरिएको थियो। सोही बयानका आधारमा त्यही दिन अपराह्न करिब साढे ४ बजे सामाखुसीस्थित रेडन पुल नजिकबाट पोखरेललाई नियन्त्रणमा लिइएको हो। उनको साथबाट १५ लाख ३० हजार रुपैयाँ नगद बरामद गरिएको जनाइएको छ।
त्यसपछि साँझ करिब ७ बजे एकान्तकुनाबाट प्रवेश अलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अलीको मोबाइल उपकरणमा फेला परेको बाइनान्स आइडीमार्फत गरिएको कारोबार विश्लेषण गर्दा हालसम्म ९१ लाख ८१ हजार ५१३ अमेरिकी डलर बराबर, अर्थात् नेपाली मुद्रामा करिब एक अर्ब ३६ करोड ८० लाख ४५ हजारभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार भएको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।
प्रहरीले यस घटनालाई संगठित रूपमा सञ्चालन भएको आर्थिक कारोबारसँग सम्बन्धित भएको आशंकामा थप अनुसन्धान अघि बढाएको जनाएको छ।







