काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव सापकोटाले नेपाली समाज अहिले दुई खाले अतिवादले आक्रान्त रहेको टिप्पणी गरेका छन् ।
बुधबार सिन्धुपाल्चोकमा आयोजित एक चुनावी समारोहमा बोल्दै नेता सापकोटाले त्यस्ता अतिवादबाट देश जोगाउन नेकपाले जित्न जरुरी रहेको बताएका हुन् ।
‘एउटा अतिवाद जसले आलोचना र विरोध केही सुन्नै सक्दैन । हुँदाहुँदै बढी विरोध र आलोचना भयो भनेर सामाजिक सञ्जाल बन्द गर्यो,’ नेता सापकोटाले भने, ‘त्यसैको विरोधमा स्कुल ड्रेसमा आन्दोलनमा आएका विद्यार्थीलागि गोली चलाएर हत्या गर्यो ।’
अर्को अतिवादले सामाजिक सञ्जालमा लेख्ने मात्रै काम गरेर आम जनतालाई भड्काइरहेको उनले बताए । ‘सामाजिक सञ्जालमा विरोध गर्ने मात्रै । जनतासँग नआउने, सरसल्लाह नगर्ने र सामाजिक सञ्जालमार्फत समाजलाई भड्काएर भदौ २४ गते जस्तो विध्वंस मच्चाउने काम गरिरहेको छ ।’
सिंहदरवार, संसद् भवन, सर्वोच्च अदालतका भवनहरूमा भएको आगजनी त्यही अतिवादको उपज रहेको उनले टिप्पणी गरे ।







