काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर तथा उपकप्तान दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग (पीएसएल) को आगामी संस्करणमा सहभागी हुने भएका छन्। अक्सन प्रक्रियामार्फत इस्लामावाद युनाइटेडले उनलाई अनुबन्ध गरेको हो।
उक्त फ्रेन्चाइजले ऐरीलाई पाकिस्तानी ६० लाख रुपैयाँमा अनुबन्ध गरेको छ, जुन नेपाली मुद्रामा करिब ३१ लाख १० हजार रुपैयाँ बराबर हुन्छ। यससँगै उनी पीएसएल खेल्ने नेपाली खेलाडीको सूचीमा थपिएका छन्।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गरिसकेका ऐरीले हालै सम्पन्न विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्ध ४४ रन जोड्दै उक्त उपलब्धि हासिल गरेका थिए।
यो ऐरीको तेस्रो विदेशी फ्रेन्चाइज लिग सहभागिता हो। यसअघि उनी क्यानडाको ग्लोबल टी-२० लिग तथा संयुक्त अरब इमिरेट्सको आइएल टी-२० प्रतियोगितामा समेत आबद्ध भइसकेका छन्।
सन् २०२६ को पीएसएल संस्करणमा पहिलो पटक आठ टोली सहभागी हुनेछन्। अघिल्ला पाँच टोलीले आफ्नो ११औँ सिजन खेल्नेछन् भने तीन नयाँ टोलीले यसै संस्करणबाट प्रतियोगितामा प्रवेश गर्नेछन्। गत सिजन छैटौँ स्थानमा रहेको मुल्तान सुल्तान्स यसपटक प्रतियोगितामा सहभागी नहुने जनाइएको छ।
आगामी संस्करणको प्रतिस्पर्धात्मक ढाँचामा पनि परिवर्तन गरिएको छ। यसअघि डबल राउन्ड-रोबिन प्रणालीअनुसार खेल हुँदै आएकोमा अब लिग चरणमा प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक पटक मात्र प्रतिस्पर्धा गर्नेछन्।
२०२६ को पीएसएल मार्च २६ देखि मे ३ सम्म सञ्चालन हुने तालिका सार्वजनिक गरिएको छ। भारत र श्रीलंकामा आयोजना हुन लागेको २०२६ पुरुष टी-२० विश्वकपको समयतालिकालाई ध्यानमा राख्दै प्रतियोगिताको मिति अघिल्लो वर्षको तुलनामा केही अगाडि सारिएको हो।







