काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन् ।
नागरिकको अपेक्षा अनुसार नै पार्टी सुधारिएको भन्दै उनले अब सुधारिएको नेतृत्वले नै देश विकासको नेतृत्व लिने बताए ।
आम निर्वाचन २०८२ का लागि देश विकासका भिजन समेटिएको घोषणा पत्र तयार हुँदै गरेको भन्दै उनले यसले नागरिकका चाहना सम्बोधन गर्दै देश विकासको अबको मार्गचित्र तय गर्ने बताए ।
देशैभर काँग्रेस उम्मेदवारहरू चुनावी मैदानमा अघि बढिरहेको भन्दै उनले फेरिएको नीति र नेतृत्व दुवैले नयाँ ऊर्जा दिएको बताए ।
महामन्त्री पौडेलले काठमाडौँ ५ को सांसदका रूपमा आफूले विगतमा इमानदार भएर क्षेत्र र राष्ट्रको विकास तथा नीति निर्माणमा काम गरेको भन्दै उनले विगतमा आफूले थालेका असल अभ्यासको निरन्तरता दिँदै अझ धेरै काम गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको बताए ।







