काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औँ बोर्ड बैठकले प्रतियोगिता फागुन १ देखि ७ सम्म गर्ने निर्णय गरेको राखेपका एक सदस्यले जानकारी दिएका हुन् ।
गत वर्ष मंसिरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको मिति तीनपटकसम्म सारिँदै स्थगित भएको थियो जसका कारण गत आर्थिक वर्षमा प्रतियोगिता नहुने निश्चित भएको थियो ।
नयाँ खेलकुद मन्त्री बब्लु गुप्ता नियुक्त भएपछि बसेको पहिलो बैठकबाट राष्ट्रिय खेलकुदको मिति तोकिएको हो ।
२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन अवसर दुई वर्षपछि २०८१ मंसिरमा दशौँ कर्णाली प्रदेशमा गर्ने गरी झण्डा हस्तान्तरण गरिएको थियो ।
तर भौतिक पूर्वाधार र विभिन्न कारण देखाउँदै निर्धारित समयमा दशा हुन सकेन र पहिलो पटक मिति सारेर २०८१ चैतमा गर्ने निर्णय गरिएको थियो ।







