भोजपुर । दसैँलाई लक्षित गरेर वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । भोजपुरको पौवादुङमा गाउँपालिकाले वडा स्तरबाट गाउँपालिकाको सेवा प्रवाह गरिरहेको हो ।
चाडबाडको बेलामा ज्येष्ठ तथा असक्त नागरिकलाई घरदैलोमा पुगेर सेवा दिने लक्ष्यले अभियान सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन गाउँपालिकाले विभिन्न रचनात्मक काम गरिरहेको उनले बताए ।
“यहाँका ज्येष्ठ तथा अशक्त नागरिकलाई लक्षित गरेर सेवा दिइरहेका छौँ”, अध्यक्ष राईले भने, “हेर्दा सामान्य जस्तो देखिए पनि यसले जनतालाई ठुलो लाभ पुगेको छ, च्याङ्ग्रेमा रहेको बैंकसम्म भत्ता लिन आउँदा स्थानीयलाई समस्या छ, घर पायकमा सेवा दिने हाम्रो लक्ष्य हो ।”
स्थानीयलाई लक्षित गरेर घुम्ती शिविरमार्फत सेवा प्रवाह भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । वडा स्तरबाट नै पहिलो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको उनको भनाइ छ ।
असोज १२ गतेसम्म सबै छ वटै वडामा भत्ता वितरण सम्पन्न हुनेछ । अभियान यही असोज ९ गतेबाट वितरण सुरु गरिएको हो । पौवादुङमाका एक हजार ६३९ नागरिकले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् ।







