काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गम्भीर असहमति राख्दै आफ्ना धारणाहरू सार्वजनिक गरेका छन् ।
पार्टी स्थायी कमिटी बैठकमा आइतबार आफ्ना धारणा राख्दै शर्माले अध्यक्ष ‘प्रचण्ड’कै कारण २०६४ सालमा प्राप्त गरेको जनमत गुमेको बताए ।
‘वर्गप्रतिको प्रतिबद्धतामा अध्यक्षज्यूको विचलन आएको छ, संघीयताको स्वामित्व लिन सकिएको छैन, पहिचानको मुद्दा छोडिएको छ,’ शर्माले बैठकमा भने, ‘यी सबै कारणबाट हामीले ३१ लाखको जनमत गुमाएका छौँ, त्यो फिर्ता गर्न सक्छौँ कि सक्दैनौँ ?’
२०६४ सालको संविधान सभा निर्वाचनमा माओवादी पहिलो पार्टी बनेको थियो । त्यसयता माओवादीको जनमत निरन्तर ओरालो लागिरहेको छ । जनमत घट्दै जानुको जिम्मा स्वयं ‘प्रचण्ड’ले पनि लिनुपर्ने शर्माले बताउँदै आएका छन् ।
बैठकमा उपमहासचिव शर्माले वैचारिक लाइन, राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकता, विधि र संगठनात्मक प्रणालीमा संकट लगायतका कारणले पार्टीमा समस्या उत्पन्न भएको पनि बताएका छन् ।







