छिमेकी देश भारतको राजधानी दिल्लीमा कार्यान्वयनमा ल्याइएको खुसी पाठ्यक्रमले संसारको ध्यान तानेको छ। मध्यस्थ दर्शनमा आधारित मानव मूल्य शिक्षाको कार्यान्वयनको रूपमा खुसी पाठ्यक्रम लागू भएको रहेछ। यसै अभ्यासबाट प्रभावित भई नेपालको नवलपारासी (वर्दघाट सुस्ता पूर्व) जिल्ला मध्यविन्दु नगरपालिकामा “हाम्रो खुसी पाठ्यक्रम” लागू गरिएको छ। यस लेखका लेखक पनि त्यसै नगरपालिकाको छिमेकी कावासोती नगरपालिकामा कार्यरत शिक्षा अधिकृत रहेकाले छिमेकी पालिकाको अभ्यासलाई राम्रोसँग बुझ्ने इच्छा राखेको थिए। दुवै नगरका नगर प्रमुख भीमलाल अधिकारी र विष्णुप्रसाद भुसाल तथा कालीगण्डकी गाउँपालिकाको अध्यक्षज्यू समेतको सहयोगमा दिल्लीमा लागू भएको खुसी पाठ्यक्रम र मध्यस्थ दर्शनका प्रवर्धक श्री श्रवण कुमार शुक्लाज्यूको पाँच दिने शिविरमा सहभागी हुने अवसर पाएँ। त्यसै शिविरमा प्रस्तुत भएका विषय, लिन सकिएका छिटफुट ज्ञान र नेपाली समाजको एक भोक्ताका अनुभव समेतको आलोकमा यो लेख तयार पारेको छु। लेख मार्फत अभिव्यक्त भएका विचारहरूको कसीमा लेखकको व्यवहार साह्रै सानो कदको छ। सिकारु र सुरुवाती मात्रै छ। यही कुराको स्वीकार भाव सहित लेखको मूल विषयतर्फ हजुरलाई डोहोर्याउने अनुमति चाहान्छु।
हामी एक क्षण पनि दुखी हुन चाहँदैनौं। हामी हरेक क्षण खुसी हुन चाहन्छौं। मानिस विपनामा त के सपनामा पनि खुसी हुन चाहन्छ। दुखी भएको सपनाले पनि मानिसलाई पिरोल्छ।
सबै प्राणीहरू आहार, निद्रा, भय र मैथुन मार्फत खुसी हुन प्रयासरत हुन्छन्। अधिकांश मानिस पनि आहार, निद्रा, भय र मैथुन मार्फत खुसी हुन लागि परिरहेको हुन्छ। मानिस सचेत प्राणी भएकोले निरन्तर खुसी चाहन्छ तर आहार, निद्रा, भय र मैथुन मानिसले निरन्तर गर्न सक्दैन, त्यसैले यी कुराबाट निरन्तर खुसी सम्भव छैन। यी कुराहरू स्थायी खुसीका स्रोत होइनन्। क्षणिक खुसीका स्रोत मात्र हुन।
खुसीका तीन आयाम श्रम, सम्बन्ध र समझलाई हामीले आत्मसात गर्न नसकेको देखिन्छ। हामीले शब्द, स्पर्श, रूप, रस, गन्धको प्राप्तिबाट निरन्तर खुसी भोग गर्न खोजेका छौं। तर यो त क्षणिक हुन्छ। त्यसैले शारीरिक सुख क्षणिक खुसीको स्रोत हो। सम्बन्धमा सुमधुर भाव र स्थिर भावले मात्र स्नेह, हेरचाह (ममता), कृतज्ञता, विश्वास, सम्मान आदिको भाव जागृत गर्छ। लोभ, पाप, अहंकार, दम्भ, छुद्र प्रतिस्पर्धाको भावलाई हटाउन पनि सम्बन्धमा सुमधुर भाव आवश्यक छ। अरूको अयोग्यता र असफलताबाट आफू प्रभावित हुनु, खुसी हुनु आफ्नो अयोग्यता हो। यो मानसिक लघुताभास र स्वस्थ समझको अभाव हो।
सकारात्मक परिवर्तन र व्यवहार निर्माणका सन्दर्भमा अरूले देखाउने प्रतिक्रिया सामान्यतया बाधा, प्रतिरोध, अस्वीकृति, अनुकूलन र स्वीकृति हुने गर्छ। लक्ष्य र स्पष्टताको समझ पनि जीवनमा सुखको बलियो कारण बन्दछ। भावना र विचारमा स्पष्टता सहितको लक्ष्य निर्धारण गर्दा खुसी प्राप्त हुन्छ। आफ्नो बारेमा गहिरो बुझाइ तथा ध्यान केन्द्रित गर्न स्पष्ट लक्ष्य आवश्यक छ। यसले समस्या समाधानमा पूर्वसूचना प्रदान गर्छ। लक्ष्य (संकल्प) प्रष्ट भए साधना (प्रक्रिया) ले दुखी बनाउँदैन। सचेत वा विचारशील भई कारणको पहिचान सहित उद्देश्य पत्ता लगाउनु र जीवनका अन्तरसम्बन्धित पक्ष र पाटाको बुझाई राख्नुले निरन्तर खुसीको लागि सहजता प्राप्त हुन्छ भन्ने मान्यता मध्यस्थ दर्शनले राखेको छ।
त्यसैले व्यक्तिमा श्रम, सम्बन्ध र समझको सही अभ्यास गराउन मानवीय मूल्यहरूको अभ्यासमा पुनःअभिमुखीकरण, पुनःअभियान्त्रिकी, सही ट्र्याकिंग को माध्यमबाट माथिका पक्षमा व्यवहार निर्माणको मार्ग खोज्न आवश्यक छ।
दिगो वा स्थायी खुसीको स्रोतको पहिचान गर्नु। अभ्यास गर्नु। सोही अनुसारको जीवन पद्धति अपनाउनु नै खुसीप्रतिको सही बुझाई र गराई हुन्छ। यही नै मानव मूल्य हो। यही मानव मूल्यलाई मानिसमा सिञ्चित गर्ने राजमार्ग नै मानव मूल्य शिक्षा हो। यो नै दिगो खुसीको शिक्षा हो भन्ने धारणा मध्यस्थ दर्शनको रहेको छ।
शिक्षा जीवनका लागि इन्धन हो। शिक्षा जीवनको लागि तयारी मात्र होइन स्वयंमा जीवन हो। कर्तव्य, करुणा, विवेक, नवप्रवर्तन र सुखको प्रस्थान बिन्दु नै शिक्षा हो। राजनीतिज्ञ भन्दा शिक्षक दूरदर्शी हुन्छन्। हुनु पर्छ। किनभने राजनीतिज्ञले अर्को चुनावको जित सोचेर काम गर्छन् तर शिक्षकले अर्को पुस्तालाई सोचेर काम गर्नुपर्छ। माता, पिता र शिक्षक जिम्मेवारीबाट भाग्न मिल्दैन। आरोप सहनु पर्छ। भाग्नु हुँदैन। थप जागरूक भएर अगाडि बढ्नै पर्छ।
यद्यपि हामीले सोच्नु पर्ने के छ भने हिजोभन्दा आज साक्षरता बढेको छ। उच्च शिक्षा र सिपयुक्त नागरिकको संख्या बढेको छ। सारा विश्वले विकासको नयाँ नयाँ क्षितिज उघारेको छ। खोज अनुसन्धान, सिद्धान्त र प्रयोगहरूले प्रत्येक दिन नवप्रवर्तनको उदाहरण प्रस्तुत गरेको छ। यसको साथै ज्यामितीय रूपमा प्राकृतिक असन्तुलन बढेको छ। भ्रष्टाचार बढेको छ। मानवीय चिन्ता बढेको छ। मानवीय भयहरू दिनप्रतिदिन बढेको छ। सम्बन्धहरूमा सामिप्यता र विश्वास पातलिदै गएको छ। व्यक्ति, परिवार, समाज र प्रकृति बीचको सहअस्तित्व र सम्बन्धमा श्रद्धा, भरोसा, न्याय, सत्य र धर्मको पक्षमा असन्तुलन छ। विचलन छ। यो नै चिन्ताको कारण बनेको छ। दुखको माध्यम बनेको छ।
आज हामीले स्वयलाई बुझ्न र पारिवारिक, सामाजिक, प्राकृतिक सम्बन्धलाई बुझ्न चुकेका छौं। यही कारण नै हाम्रो दीर्घकालीन खुसीका स्तम्भहरू हुच्चा भएका छन्। चिन्ताहरूलाई चिन्तनमा बदलेर चैतन्यको यात्रा गर्न सकिएको छैन।
आफ्ना र पराया रूपमा विभाजित मानसिकता र व्यवहार नै भ्रष्टाचार, डर, भय, असुरक्षा र अव्यवस्थाको कारण बनेको छ। भयको स्रोत जनावर, मानिस र प्रकृति हो। दुखका साथ भन्नु पर्छ आज मानिसका लागि भयको मुख्य स्रोत नै मानिस भएको छ।
यस कारणको उपचार जागृत सोचबाट हुन सक्छ। त्यसका लागि प्रस्थान बिन्दु विद्यालय शिक्षा हुन आवश्यक छ किनभने विश्वको कुल जनसंख्याको करिब तीस प्रतिशत जनसंख्या विद्यालय उमेरको विद्यार्थीको छ। त्यसैले जागृत मानव रूपान्तरणको आधारभूत माध्यम मानव मूल्यमा आधारित विद्यालय शिक्षा हुन सक्छ।
हामीले सामान्य ढंगबाट नै शिक्षाको गन्तव्य र प्राप्ति बीचको अन्तर चिन्तन गर्ने हो भने यी असंगतिहरू सजिलै देख्न सकिन्छ। असल नागरिक, चिन्तामुक्त नागरिक, असल सामाजिक व्यवस्थाको निर्माण गर्ने नागरिक, सद्भावपूर्ण पारिवारिक सम्बन्धमा जिउने नागरिक, सामाजिक भयको सिर्जना नगर्ने नागरिक, प्रकृतिलाई सन्तुलनमा चल्न दिने नागरिक निर्माण गर्न शिक्षा चुकेको छ। यो खाली ठाउँ पूर्तिको उपाय नै मानव मूल्य शिक्षा हो। खुसी पाठ्यक्रमको गन्तव्य यही नै हो भन्ने मेरो बुझाई छ।
आज व्यवहार, बानी, नैतिकता र आचरणलाई व्यवस्थित गर्ने मार्ग दर्शन, दृष्टिकोण र गलत मार्गदर्शन, गलत नेतृत्व, गलत ट्र्याकिंग हुनबाट सजग तथा जागरूक बनाउने सुझावपूर्ण शिक्षाको सुनिश्चितता नै मानव मूल्य शिक्षाको संकल्प हो। यो नै सुखी जीवनको इन्धन हो।
हरेक मानिसको प्राथमिक चिन्ता अभाव र प्रभाव रहेछ। गास वास कपासको अभाव र तुलनात्मक राम्रो खोज्ने अरूभन्दा माथि र हरेक कुरामा सम्पन्न बन्न खोज्ने लोभ र इच्छा नै प्रभाव हो। मान्छे चिन्तित छ। धेरैलाई कारण थाहा छैन। अभाव भन्दा पनि प्रभावले धेरै चिन्तित छ मान्छे। यो नै मानव मूल्य शिक्षाको विषय हो।
हामीसँग अमेरिकाको राष्ट्रपति, नेपालको प्रधानमन्त्री तथा नगर प्रमुखलाई दिन सुझाव छ तर आफ्नो चिन्ताको समाधानको विकल्प छैन। विकल्प खोज्ने चेतना छैन। विकल्प खोज्ने समय र सामर्थ्य तथा लगाव छैन। यही कुराको चुरो पहिचानको माध्यम हो खुसी पाठ्यक्रम।
पदार्थ र जीवजन्तुको आचरण समान हुन्छ तर मानिसको आचरण फेरिन्छ। समान रहँदैन। शिक्षाको माध्यमले मानिसको आचरणमा निश्चित गर्न सकिन्छ भन्ने मान्यता छ, तर हालको शिक्षा प्रणाली त्यो प्राप्ति गर्न कही कतै चुकेको छ जसको कारण श्रम, सम्बन्ध र समझका साथ जीवन जिउन नसकि हरेक क्षण रित्तो रित्तो महसुस गर्दैछ मान्छे। अभाव के को हो त्यो थाहा छैन तर रित्तो भने निरन्तर महसुस गर्दैछ मान्छे।
खुसी के हो? खुसीको स्रोत के हो? खुसीको स्रोतलाई व्यवहारमा कसरी आत्मसाथ गर्ने? खुसीको माध्यम वा लक्ष्य के हो? यी प्रश्नहरूमा हाम्रो प्रचलित शिक्षाले चित्तबुझ्दो जवाफ दिन नसकेर होला सायद पिएचडी गर्नेहरूसँग पनि खुसीको खडेरी देखिन्छ। खुसीका मूल्यहरूको अभाव भेटिन्छ।
भनिन्छ हरेक अक्षरमा ब्रह्मशक्ति (मन्त्र) हुन्छ, हरेक वनस्पतीमा औषधीय गुण हुन्छ र हरेक व्यक्तिमा क्षमता हुन्छ केवल चिन्ने र प्रयोग गर्ने सामर्थ्य चाहिन्छ। अरूप्रति गौरव गर्ने तर आफ्नोप्रति हेय भाव राख्ने सोचले व्यक्तिलाई खुलेर अगाडि बढ्न दिदैन। आत्मचेतना, आत्मप्रवाह र आत्मसाक्षात्कारको सारभूत अभ्यास गर्न गराउन नसक्दा मानवीय व्यक्तित्वको बुझाइ र विकासप्रति केही भ्रम र केही देखावटी रहेकै छन्। स्वयलाई बुझ्न र पारिवारिक, सामाजिक, प्राकृतिक सम्बन्धलाई बुझ्न हामी चुकेका छौं। यही कारण नै हाम्रो स्थायी खुसीका क्षितिजहरू साँगुरा भएका छन्। चिन्ताहरूलाई चिन्तनमा बदल्न सकिएको छैन। यस्तो हुनुको कारणको उपचार गर्न पनि शिक्षा प्रणाली जिम्मेवार हुनै पर्छ।
“म” भन्ने शब्दले शरीर र मन दुवैलाई एक साथ जान्छ। शरीर त केवल मन, वृत्ति, चित्त, बुद्धि र आत्माको स्वामित्वमा रहने चिज हो। त्यसैले भनिन्छ “आज मेरो शरीर दुखेको छ”। मेरो शरीर भन्ने वाला नै जीवनको निर्देशक हो। जुन बोलीचालीको भाषामा मन हो। हामीले शरीरलाई सुन्दर गराउने ब्यूटीपार्लर नजिक-नजिक भेट्छौ तर त्यो शरीरको निर्देशक मनलाई सुन्दर र काबिल बनाउने पसल भेट्दैनौ। यही निर सवाल उठ्छ निर्देशकमा क्षमता कमी हुँदा निर्देशन सही हुन सक्छ र? अनि खुसीका आधारहरू स्वभाविक रूपमा कमजोर हुन्छन्। यही प्रश्नको सपाट उत्तर दिन हाम्रो शिक्षा प्रणाली चुकेको छ।
दीनता, हीनता र क्रूरताको भाव जनावरको विशेषता हो। मानिस त योभन्दा फरक देखिनु पर्छ। मानिसले ज्ञान, विज्ञान, नवीनता र आविष्कारको क्षेत्रमा दिन दुई गुणा रात चार गुणा उचाई लिएको उद्घोष गर्दैछ एकातिर भने अर्कोतिर मानवमा दीनता, हीनता र क्रूरताको भाव अझै बाक्लिएको छ। यी प्रश्नहरूले गहिरोसँग के निर्देश गर्दछ भने जीव चेतनाबाट मानव चेतनामा जान मानिसमा समझ, सम्बन्धप्रतिको बुझाइ, सुविधालाई सर्वोच्च खुसीको माध्यम नमान्ने चेतना, पारस्परिक सुख र पारस्परिक समृद्धिको भावयुक्त मानव मूल्य शिक्षाको खाँचो प्रष्ट देखिन्छ।
हामी आम मानवले सुविधालाई प्रथम प्राथमिकता दिन्छौं। लगानी गर्छौं। निरन्तर खुसी दिने मानवीय मूल्य र सम्बन्ध व्यवस्थापनलाई न्यून प्राथमिकता दिने गर्छौं।
मनुष्यको प्रधान आवश्यकता सुख र खुसी हो। सुविधा परिश्रमबाट प्राप्त हुन्छ। मन र तन विगार्ने सुविधा तथा मनोरञ्जन हितकर हुँदैन। परिश्रमबाट बढी फल प्राप्त गर्न मानिसमा सिप र शिक्षा आवश्यक हुन्छ। खुसी मानवीय मूल्यहरूको आत्मसातबाट हुन्छ। संवादबाट हुन्छ। कर्तव्य, करुणा, विवेक, अपेक्षा, विचार, धर्म, न्याय, सत्य, स्वमूल्यांकनमा आधारित संवाद र अभ्यासबाट निरन्तर खुसी मिल्छ। सारमा हेर्दा सुविधाको लागि श्रम गर्नु पर्छ। खुसीको लागि श्रम, समझ र सम्बन्धमा ध्यान दिनु पर्छ।
सुविधा र सम्बन्ध दुबैको कारणले झगडा र वैमनस्यता हुन्छ तर सम्बन्धमा तृप्ति छ र समझ छ भने सुविधाको कारणले हुने झगडा र वैमनस्यतामा कमी हुन्छ। अहिलेको समयमा सामाजिक सञ्जालमा केहीले आफ्नो वितृष्णा वमन गर्छन्। केहीले त्यो वमन सहने र केहीले छिछि भनेर बस्ने गरेको देखिन्छ। यी सबै कुराले विचारमा विचलन, समझको कमी तथा पक्षधरता र विरोधको भाव यत्र तत्र देखिन्छ। जसको कारण एउटा विषयले नै धेरैलाई एकै पटक दुखी बनाउने गरेको छ। जबसम्म हामीमा समझ हुँदैन सम्बन्ध बोझ हुन्छ। यी मानवीय मूल्यहरूको आलोकमा वर्तमान शिक्षाको प्रयत्नले मानिसको मन छुन सक्यो वा सकेन? यही प्रश्नको चित्त बुझ्दो जवाफ हो मानव मूल्य शिक्षा।
हरेक मानिसको लागि समझदारीको प्रयोगशाला/मूल्यांकन स्थल परिवार नै हो। हाम्रो समझ, सहयोग, हार्दिकताको मूलमापन परिवारबाट नै हुन्छ। मानिसको लागि परिवार भन्दा सुरक्षित स्थान अन्यत्र कहीं हुँदैन। जब घरबाट बाहिर जान्छौं हरेक कुरामा (खाना, सुरक्षा आदि) अरूमा निर्भर भइन्छ। त्यसैले घर नै सुरक्षा र आत्मविश्वास तथा आत्मनिर्भरताको बलियो स्थान हो। पहिचान हो। हाम्रो लागि परिवार, समाज र राष्ट्र घर हो। त्यसैले घरलाई रणभूमि बनाउन हुँदैन। सुखको केन्द्र बनाउनु पर्दछ। आफ्नो घर र राष्ट्रप्रतिको माया, जिम्मेवारी र इमान्दारी नै सच्चा मानव मूल्य हुन्। परिवारमा करुणा र राष्ट्रप्रति समर्पणले नै जीवनलाई अर्थपूर्ण र सुखी बनाउँछ भन्ने प्रष्ट सन्देश दिने मानव मूल्य शिक्षा नै खुसी शिक्षा हो।
हरेक मानिससँग कल्पना हुन्छ। कल्पनाबाट नै इच्छा, विचार र आशा जागृत हुन्छ। रुचीमूलक र लक्ष्यमूलक आशालाई सजीव र प्रभावकारी बनाउने पक्ष भनेको भावमूलक व्यवहार नै हो। इच्छा बढ्दै जान्छ अन्त्य हुँदैन। इच्छा पूर्तिको श्रृंखला चलिरहन्छ। सन्तुष्टी हुँदैन। विचारपूर्वक राखिने इच्छा नै आशा बन्दछ। इच्छा पूरा गर्न कार्य व्यवहार गरिन्छ। इच्छाको पूर्तिले दिएको खुसी अस्थायी हुन्छ। कुनै कुनै इच्छाको पूर्ति हुँदा प्राप्त गरेको खुसी पछि दुखमा परिणत पनि हुन सक्छ। इच्छा प्रतिको मूलतः तीनवटा दार्शनिक विचारहरू रहेका छन्। मानव जीवन सार्थक बनाउने हो भने इच्छामुक्ति हुनु पर्दछ भन्ने मान्यता आदर्शवादी दर्शनले राख्दछ। भौतिकवादी दर्शनले सकेसम्म इच्छापूर्ति गर्नु पर्ने विचार राख्दछ। त्यस्तै मध्यस्थ दर्शनले समझपूर्ण कार्यव्यवहार मार्फत इच्छा तृप्ति गर्नुपर्ने मान्यता राख्दछ।
न त इच्छाबाट मुक्ति नै हुन सकिन्छ न त आँखा चिम्लेर इच्छापूर्ति गर्न सकिन्छ। यसको उचित र सहज मार्ग भनेको मध्यस्थ दर्शनले निर्देश गरे जस्तै समझपूर्ण कार्यव्यवहार मार्फत इच्छा तृप्ति नै हो। यसका लागि हाम्रो सोचशैलीको पुनर्संरचना, जीवनशैलीको पुनर्संरचना, सम्बन्धको पुनर्संरचना र चाहनाको पुनर्संरचना आवश्यक छ। यो पाठ्यक्रम, शिक्षण र सिकाईको पुनर्संरचनाबाट गर्नु नै सहज र उचित मार्ग हो भन्ने दृष्टिकोण नै खुसी शिक्षाको मर्म हो।
शक्ति र स्रोत सम्पन्नको सम्पन्नताले मानिसलाई सम्मान प्राप्त हुन्छ भन्ने आम धारणा छ। यो सोच गलत हो। हामीले रूप, पद, धन, बल, शक्ति र सत्ता यी कुराबाट सम्मान पाउने प्रयास गर्छौं। यसले मानिसमा ईर्ष्या पैदा गर्दछ। सम्बन्धमा यी कुराहरू निर्धारक बन्दा सम्बन्ध न त भावनात्मक बन्छ न त जीवन्त बन्छ। केवल स्वार्थप्रद लेनदेन मात्र बन्दछ। सम्बन्धमा सामान र शक्तिले होइन भावले अर्थ राख्दछ। सम्मान, विश्वास, कृतज्ञता, करुणा र हेरचाह जस्ता भावहरूले मात्र सम्बन्धमा अर्थ राख्दछ। यो नै मानव मूल्य शिक्षाको विषय हो। मस्तिष्क र मन द्वारा गरिने तुलनात्मक अभ्यासले मानिसमा विचार बन्दछ। मानिसले वस्तु वा घटनालाई तुलना गर्दा प्रियता, हित, लाभ, धर्म, न्याय र सत्यका दृष्टिले अलग-अलग रूपमा हेर्दो रहेछ। जसको कारण विचारमा मानिस-मानिस बीच भिन्नता हुने रहेछ। हामीलाई कसैले मुर्ख बनाउन सक्दैन केवल हाम्रो न्यून समझको फाइदा उठाएर हाम्रो मुर्खाइ उजागर गरिदिन्छन्। यदि मानिसको विचारमा सर्वमान्य दृष्टिकोण र साझा दृष्टिकोण निर्माण गर्न चाहने हो भने शिक्षा र तालिम मार्फत मानिसका विचार बन्ने तुलनात्मक आधारहरू (प्रियता, हित, लाभ, धर्म, न्याय र सत्य) प्रति जागृत बनाउन आवश्यक छ। मानवमा तीन प्रकारको उन्माद हुन्छन्। लाभोन्माद (बढी फाइदा खोज्ने प्रवृत्ति), भोगोन्माद (वस्तु सामग्री व्यक्तिआदिको अधिक संग्रह र उपभोग गर्ने प्रवृत्ति) र कामोन्माद (इन्द्रिय सुखको उन्माद)। यी तीनै उन्मादले मानिसलाई श्रम, सम्बन्ध र समझको अर्थपूर्ण यापन गर्न बाधा पुर्याउँछ। आफूबाहेक अरूप्रति हार्दिक हुन सीमा राख्दछ। मानवीय मूल्यहरूमा स्खलन गराउँछ। त्यसैले यी उन्मादहरूको व्यवस्थापन गर्नु आवश्यक छ। यो नै खुसी शिक्षाको प्राथमिकताका विषयवस्तु हुन्।
शारीरिक शक्ति, आर्थिक सामर्थ्य र ज्ञानले मानिसको जीवन सुखी र मङ्गलमय हुन भूमिका खेल्दछ। त्यसैले भनिन्छ “पाखुरामा शक्ति होस्। पाकेटमा पैसा होस्। जीवनमा ज्ञान होस्। जीवन मङ्गलमय हुनेछ। सफल हुनेछ”। यसका लागि उचित आहार, विहार (शारीरिक तथा मानसिक थकान कम गर्न गरिने कार्य) र व्यवहारको संयोजनपूर्ण जीवनशैली आवश्यक छ। यही जीवनशैली यापन गर्न बालबालिकामा समझ निर्माण गर्नु पनि मानव मूल्य शिक्षाको महत्वका विषय हुन्।
अहिले मानिसले गर्ने हरेक कामको लागि मेसिन बनाइएको छ। मेसिनका कारण मानिसको समय र श्रम बचेको छ। बचेको समय, श्रम र पुँजीलाई फेरि नयाँ आविष्कार (मोबाइल, टिभी, फिल्म आदि) को प्रयोगले सकिदिएको छ। झन् निष्क्रियता र विलासिता बढाएको छ। हामीले बचेको समयको समुचित प्रयोग गर्न चुकेका छौं। हामीमा सुविधा र खुसी प्रतिको बुझाइगत समस्याहरू देखिन्छन्। खुसी र सुविधालाई उस्तै मानेका छौं। सुविधा बढ्दा सुख बढ्छ भन्ने मान्यताले घर गरेको छ। सुविधाको जोरजमलाई नै जीवनको लक्ष्य बनाइएको छ। सुविधा प्राप्तिका लागि नै पूरा जीवन खर्च गरिएको छ। मानिसका संकल्प, इच्छा, विचार र आशाहरू सुविधा केन्द्रित भए तर खुसी टाढिंदै गएको छ। आवश्यकीय सबै सुविधा हुँदा पनि के छैन र के भएन जस्तो रित्तोपनले ग्रस्त छौं। मानव मूल्य शिक्षा यही रित्तोपनको कारण माथिको उपचार सुझाउने मार्गदर्शन हो भन्ने मान्यता दिल्लीको खुसी पाठ्यक्रमले राखेको छ।
संसारमा दुई प्रकारका चिज हुन्छन्। इन्द्रियले थाहा पाउने र ज्ञानले थाहा पाउने। ज्ञानले थाहा पाउने सत्य, धर्म र न्याय हो। यो पक्षमा चेतना खुल्नु साक्षात्कार हो। रूप, बल, धन, पदले होइन ज्ञानले प्रभावित हुने अवस्था साक्षात्कार हो। साक्षात्कार व्यक्ति समझदार, जिम्मेवार र दमदार हुन्छ। साक्षात्कार ज्ञानगोचर हुन्छ। यसले मानिसमा सही ट्र्याकिंग, सुधार, मानसिकताको पुनर्अभियान्त्रिकी, व्यवहार-बानी-नैतिकता-आचरणको व्यवस्थापन गर्दछ। प्रिय, हित र लाभ अजाग्रत मानवको तुलनाको मानक हो। न्याय, सत्य र धर्म जाग्रत मानवको तुलनाको आधार हो। न्याय, सत्य र धर्मको मर्मपूर्ण सोच व्यक्तिमा हुँदा हाम्रो इच्छा, चरित्र, विश्लेषण, रसास्वादन र चयन फेरिन्छ। परिष्कृत हुन्छ। समझपूर्ण हुन्छ। विश्वास विनाको सम्बन्ध केवल सम्पर्क मात्र हो। विश्वास सम्बन्धको प्राण हो। सम्बन्धको निर्वाह गर्ने कुरा जीवन हो। शरीर माध्यम मात्र हो। जीवन जागृत हुन चाहन्छ। सम्बन्ध जागृत जीवनका लागि हो। हुनुपर्दछ। सम्बन्धको आधार रूप होइन व्यवहार हो। तर हामी व्यवहार राम्रो गराउन होइन रूप राम्रो गराउन समय, श्रम र धन प्रयोग गर्छौं। सम्बन्धमा मूल्यहरूको अभ्यास हुनु पर्दछ। जागृत मानवले मूल्यहरूलाई सही रूपमा व्यवस्थित गर्दछ। आत्मा, बुद्धि, चित्त, वृत्ति र मन सबै बल हो। जीव चेतनामा शरीरले मन चलाउँछ। जागृत जीवनमा मनले शरीरलाई चलाउँछ। शरीरलाई स्वस्थ राख्ने जीवनको जिम्मेवारी हो। शरीरलाई सही आहार विहार र व्यवहारको व्यवस्था गर्नु मनको काम हो। जीवन भन्नु नै मन हो। मनले आत्मा, बुद्धि, चित्त र वृत्तिको निर्देशमा जीवनलाई सञ्चालन गर्दछ। मनको केन्द्रीय पक्ष आत्मा हो। बल अन्तर्निहित हुन्छ। शक्ति अभिव्यक्त हुन्छ। मनबलशाली हुँदा आशा जाग्छ। वृत्तिबलशाली हुँदा विचार जागृत हुन्छ। चित्तबलशाली हुँदा सही इच्छा सिर्जना हुन्छ। बुद्धिबलशाली हुँदा दिगो संकल्प हुन्छ। आत्मबलशाली हुँदा प्रमाणिकता देखिन्छ। यसरी ज्ञान मार्फत थाहा हुने मानवीय मूल्यहरूको मार्गदर्शन नै मानव मूल्य शिक्षाका विषय रहेका छन्।
भारतको नयाँ दिल्लीमा सञ्चालित “खुसी पाठ्यक्रम” को दार्शनिक आधार बहु आयामिक छ, तर यसको मूल जरा मध्यस्थ दर्शन र मानव मूल्य शिक्षाको अभ्यासमा आधारित ध्यान (माइन्डफुलनेस), करुणा र आत्मबोधमा गहिरो रूपमा गाँसिएको रहेछ। मानव मूल्यहरू गतिशील हुन्छन्। शिक्षा प्रणालीले गुणयुक्त सनातनी र आधुनिक मानव मूल्यको सन्तुलित अभ्यासमा सचेतता राख्नु पर्दछ। यी पक्षहरूमा खुसी पाठ्यक्रम सजग देखिन्छ।
हामीसँग बुद्ध दर्शनमा आधारित मानव मूल्य शिक्षालाई नेपालका विद्यालय शिक्षामा लागू गराउने अपूर्व अवसर छ। यसलाई राष्ट्रले सही रूपमा आत्मसाथ गर्दा सान्दर्भिक, दूरदर्शी र बहुपक्षीय लाभ हुनेछ। वैश्विक सन्दर्भमा बुद्धप्रतिको सम्मान नेपालका लागि नैतिक पूँजी हुनेछ। संसारभरका विश्वविद्यालय, नीति निर्माताहरू, मानसिक स्वास्थ्य संस्था आदि आज बुद्ध दर्शनबाट प्रेरित मूल्य, शिक्षा, ध्यान, करुणा, संवेदना, अहिंसा जस्ता शिक्षालाई आत्मसात गरिरहेका छन्। यस्तो बेलामा, नेपाल स्वयंले यस दर्शनलाई विद्यालय शिक्षा प्रणालीमा लागू गर्नु सांस्कृतिक नेतृत्व हुनेछ। यो हाम्रा लागि शिक्षा मार्फत बुद्धलाई सम्मान गर्ने न्यायिक अवसर हो। केवल लुम्बिनीलाई विकास गरेर बुद्धलाई सम्मान पुर्याउनु अधुरो हुन्छ। बुद्धका विचारलाई विद्यालय शिक्षामा आत्मसात गरेर मात्र नेपालले “बुद्धको देश” भन्नु सान्दर्भिक र सार्थक हुन्छ। यसले बुद्धप्रतिको न्यायपूर्ण सम्मान र नेपालप्रतिको विश्वविश्वास दुवै बढाउनेछ। यसले विद्यालय शिक्षालाई आध्यात्मिक विवेक, करुणा र मानसिक सन्तुलनतर्फ लैजान अवसर सिर्जना गर्नेछ। वर्तमान शिक्षा प्रणाली जानकारीमूलक छ तर संवेदनामूलक पक्षमा कमजोर छ। बुद्ध दर्शनमा आधारित मूल्य शिक्षाले ध्यान, सम्यक दृष्टि, अहिंसा, प्रतीत्यसमुत्पादको बुझाइलाई मार्गदर्शक अभ्यास मान्दछ। यिनले विद्यार्थीमा आत्मबोध, सहिष्णुता, समता र विवेकशीलता बढाउनेछ। नेपालको विशिष्ट पहिचान निर्माण गर्ने प्रभावकारी उपाय हुनेछ। भारतमा “खुसी पाठ्यक्रम”, जापानमा “इकिगाई पाठ्यक्रम” र भुटानमा “ग्रस नेसनल ह्याप्पिनेस” जस्ता अभ्यास विश्वभर चासोका केन्द्र बनेका छन्। यस्तै नेपालले पनि “बुद्ध दर्शनमा आधारित मानव मूल्य शिक्षा” लाई प्राथमिक शिक्षा, सामाजिक अध्ययन र जीवन शिक्षा कार्यक्रम मार्फत विकास गर्यो भने यो नयाँ शैक्षिक प्रयोगको पहिचान हुनेछ। अन्तर्राष्ट्रिय सहयोग, अध्येता, शिक्षाविद्, पर्यटक सबैको ध्यान नेपालतर्फ मोड्न सहयोग पुग्नेछ।
बुद्ध दर्शनमा आधारित मानव मूल्य शिक्षाले खुसी बाह्य वस्तुमा होइन, आन्तरिक सन्तुलन, करुणा, चेतना र ध्यानमा आधारित हुन्छ भन्ने मूल्यको हस्तान्तरण मार्फत विद्यार्थीहरूमा सचेतता र एकाग्रतालाई केन्द्रमा राखेर आत्मबोध, भावनात्मक सन्तुलन र नियन्त्रण, सहिष्णुता र सम्यक सोच, आत्मनिरीक्षण र आन्तरिक शान्ति, सहअस्तित्व, स्वयंप्रतिको समझ, अरूप्रति सहानुभूति, समाजप्रतिको उत्तरदायित्व विकासमा देखिने गरी सहयोग पुग्नेछ। बुद्धका मूल्य- अहिंसा, करुणा र समताले नै आजको नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक समाजमा सामाजिक एकताका लागि मूल भूमिका खेल्नेछ। विद्यालय शिक्षामा यी मूल्य सिकाएर नै सहअस्तित्वमा आधारित राष्ट्र निर्माणका सन्दर्भमा आधार तहबाटै सहयोग पुग्ने देखिन्छ।
मलाई लाग्छ बुद्ध दर्शनमा आधारित मानव मूल्य शिक्षालाई विद्यालय शिक्षामा समावेश गर्नु भनेको केवल पाठ्यक्रममा परिवर्तन गर्नु मात्र होइन नेपालको मौलिकता, विश्व नेतृत्व क्षमता र सामाजिक पुनर्जागरणको मार्ग निर्माण गर्ने ऐतिहासिक र विशिष्ट कार्य हुनेछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा क्षेत्रका जानकार तथा जागरूक संस्था तथा व्यक्तित्वहरूबीच यस विषयमा संवाद हुनेछ भन्ने आशा सहित यो लामो लेख पढ्न धैर्यता राख्ने हजुरप्रति आभार व्यक्त गर्दछु।







