काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले प्राविधिकतर्फ महासेनानीबाट सहायक रथीमा बढुवा भएका धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापतिले उनलाई बढुवा भएको पद सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषद्ले उहाँलाई गत असार ३० गते सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
सेनाले सहायक रथी झालाई काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजना प्रमुखको जिम्मेवारी दिएको छ । यसअघि उहाँ गत चैत १२ देखि सोही आयोजनाको जिम्मेवारीमा थिए ।
काठमाडौँ-तराई मधेस द्रुतमार्गको असार मसान्तसम्म भौतिक प्रगति ४१ दशमलव ३७ प्रतिशत र वित्तीय प्रगति ४२ दशमलव ७४ प्रतिशत हासिल भएको छ ।
आयोजनाअन्तर्गत सात वटा सुरुङमध्ये प्याकेज नं २ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका र गढी गाउँपालिकामा निर्माणाधीन धेद्रे तथा लेनडाँडा सुरुङको ‘ब्रेकथ्रु’ सम्पन भएको र बाँकी निर्माणको चरणमा रहेको मन्त्रालयले जनाएको छ ।
आयोजनाअन्तर्गत विभिन्न स्थानमा रहेका जम्मा ८९ वटा पुलमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएकामा हालसम्म पाँच वटा पुल निर्माण भइसकेका छन् । यसअघि झासँग कटारी–ओखलढुङगा, वेनी-जोमसोम, मुसिकोट बुर्तीबाङ सडक आयोजनाको नेतृत्व गरी जिम्मेवारी पुरा गरिसकेको अनुभव छ ।
यसैगरी, सहायक रथीमा बढुवा भएका दिवाकरविक्रम राणा र प्रमुख सेनानीबाट महासेनानीमा पदोन्नति भएका मोहित पौडेललाई पनि बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।







