डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–२ स्थित भागेश्वर माविका शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् ।
गृहकार्य नगरेको भन्दै गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्ययनरत राम कामीमाथि निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट कामीको टाउकोमा गम्भीर चोट लागेको छ ।
इलाका प्रहरी कार्यालय, जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले शिक्षकबाट कुटिँदा कामीको टाउकोमा गम्भीर चोट लागेको जानकारी दिए । गृहकार्य नगरेको शिक्षक अवस्थीले कामीलाई स्केलले पिटेको उनको भनाइ छ ।
कुटाइबाट घाइते कामीलाई विद्यालय नजिकैको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जोगबुढा अस्पताल पुर्याइएको थियो । तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि कैलाली लागिएको पीडित विद्यार्थीका बुबा डम्बर बिकले जानकारी दिए ।
विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न र उपचार खर्च उपलब्ध गराउन माग गरेका छन् ।