काठमाडौँ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सचिवविहीन बनेको छ । चालु आर्थिक वर्षको अन्त्यमा योजना र बजेट निर्माणको महत्त्वपूर्ण चरणमा मन्त्रालय सचिवविहीन भएपछि प्रशासनिक कामकारबाही प्रभावित भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक महिनाअघि रिक्त भएको उक्त मन्त्रालयमा अहिलेसम्म सचिव नियुक्त नगर्दा विभिन्न कामहरू रोकिएका छन् । जसका कारण चालु आर्थिक वर्षभित्र भुक्तानी गर्नुपर्ने खर्चसमेत अड्किएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठका अनुसार, बिहीबारदेखि शेर बहादुर श्रेष्ठलाई कार्यवाहक (का.मु.) प्रदेश सचिवको जिम्मेवारी दिइएको छ । उनले भने, “केही समयदेखि यहाँ कार्यरत कर्मचारीहरूले तलबसमेत पाउन सकेका थिएनन् । अन्य प्रशासनिक कामहरूसमेत प्रभावित भएका थिए । त्यसैले आजदेखि श्रेष्ठलाई कार्यवाहक सचिवको जिम्मेवारी दिइएको हो ।”
जेष्ठ ११ गते सचिव दीर्घनारायण कोइरालाको सरुवापछि मन्त्रालय सचिवविहीन भएको थियो । नयाँ सचिव नआउँदा चालु आर्थिक वर्षको योजना र बजेट कार्यान्वयनमा समस्या देखिएको छ भने आगामी वर्षको बजेट निर्माणसमेत प्रभावित भएको मन्त्रालय स्रोतले जनाएको छ ।







