काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
अदालतको आदेशपछि धरौटी बुझाएर नेपाल बुधबार नै घर जान पाउने छन्।
यस्तो छ घटनाको पृष्ठभूमी
पतञ्जलि योगपीठले काभ्रेमा जडीबुटी खेती र आयुर्वेद अस्पताल बनाउन २०६४ मा कम्पनी दर्ता गरी हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो। २०६६ मा माधवकुमार नेपालको मन्त्रिपरिषद्ले ८१५ रोपनी जग्गा खरिद गर्न अनुमति दिएको थियो, जसमध्ये करिब ६०० रोपनी खरिद भएको थियो। तर, खरिद गरेको केही महिनामै पतञ्जलिले जग्गा बिक्री गर्ने निर्णय गर्यो।
भूमिसम्बन्धी ऐन, २०२१ अनुसार हदबन्दी छुटको जग्गा बिक्री गर्न नमिल्ने र कम्पनी विघटन भएमा जग्गा सरकारको हुने व्यवस्था छ। तैपनि, सरकारले बिक्रीको अनुमति दिएपछि विवाद उत्पन्न भयो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको थियो ।











