काठमाडौँ । सरकारले स्वीकृत दरबन्दीभित्र करार सेवामा रहेका कर्मचारी र अस्थायी राहत शिक्षकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो घोषणा गरेका हुन्।
“स्वीकृत दरबन्दीभित्र करार सेवामा रहेका कर्मचारी र अस्थायी राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गरिनेछ। यसका लागि रोजगारदाता र योगदानकर्ताबाट १० प्रतिशत योगदानसहितको छुट्टै प्याकेज बनाई कार्यान्वयन गरिनेछ,” अर्थमन्त्री पौडेलले भने।
यो व्यवस्थाले करार कर्मचारी र अस्थायी राहत शिक्षकहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्दै उनीहरूको जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।