काठमाडौँ । नेपाली काँग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा सांसद राईलाई पक्राउ गरिएको थियो । बुधबार बयान र थुनछेक बहस सकिएपछि उनलाई धरौटीमा छाड्न आदेश भएको हो ।
सांसद राई कुनै समय उक्त सहकारीको सहसचिव समेत थिइन् । उनी सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे २ करोड रुपैयाँ अपचलन भएको खुलेको छ ।
राई आर्थिक वर्ष २०७३/७४ मा स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समिति सदस्य थिइन् । आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा भने उनी स्वर्णलक्ष्मी सहकारीको सहसचिवको जिम्मेवारीमा थिइन् ।