काठमाडौँ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने खोटाङ बराहपोखरी गाउँपालिका-२ घर भएका २३ वर्षीय विजय कुमार राई र रामेछाप मन्थली नगरपालिका-६ घर भएका २८ वर्षीय खेटराज श्रेष्ठ रहेका छन् ।
काठमाडौँ महानगरपालिका-२२ न्यूरोड एरियामा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत वित्तीय कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूको साथमा प्रहरीले हुण्डी कारोबारको लागि बोकेको ४२ लाख १० हजार रुपैयाँ पनि बरामद गरेको छ ।
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।