काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिका-४ मा रहेको श्री कंकाली उच्च माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रियामा मेयरमाथि किर्ते हस्ताक्षरको आरोप लागेपछि विवाद चर्किएको छ। विद्यालय भवन निर्माणमा करोडौँ रुपैयाँको भ्रष्टाचार भएको भन्दै स्थानीय जनप्रतिनिधिहरूले नगरप्रमुख किशोरी साह कलवारविरुद्ध छानबिनको माग गरेका छन्।
२०८१ माघ २० गते नगरप्रमुख कलवारको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले विद्यालयको नयाँ व्यवस्थापन समिति गठन गरेको थियो। उक्त समितिमा दुई सदस्य मनोनयन गरिएका थिए, जसमा वडा नं. ४ का अध्यक्ष अवधेश सहनी पनि सहभागी थिए। समितिको कागजातमा नगर शिक्षा समिति सदस्य साहिमा खातुनको किर्ते हस्ताक्षर गरिएको दाबी गरिएको छ। खातुनले आफूले हस्ताक्षर नगरेको स्पष्ट गर्दै कागजातमा किर्ते गरिएको बताएकी छन्।
वडा अध्यक्ष सहनी र साहिमा खातुनले केही समयअघि जिल्ला प्रहरी कार्यालयमा नगरप्रमुखविरुद्ध उजुरी दर्ता गराएका छन्। उजुरीमा किर्ते हस्ताक्षरमार्फत समिति गठन गरी विद्यालय भवन निर्माणको नाममा आर्थिक अनियमितता गरिएको उल्लेख छ। उनीहरूले किर्ते हस्ताक्षर पुष्टि भइसकेको दाबी गर्दै यी सबै कार्य नगरप्रमुखको निर्देशनमा भएको आरोप लगाएका छन्।
यद्यपि, उजुरी दर्ता भए पनि जिल्ला प्रहरी कार्यालय र प्रमुख जिल्ला अधिकारीको कार्यालयले हालसम्म कुनै कारबाही अघि नबढाएको वडा अध्यक्ष सहनीको गुनासो छ। “सम्बन्धित निकायहरू मौन छन्। अब पनि कानुनी प्रक्रिया अघि नबढे कडा आन्दोलन गर्न बाध्य हुनेछौँ,” सहनीले भने।
यस विषयमा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले प्रशासनिक तहमा यो विषयमा छलफल नभएको बताए। “यो प्रशासनको छलफलको विषय होइन, प्रहरी अनुसन्धानको विषय हो,” उनले भने, “अनुसन्धान प्रहरीमार्फत अघि बढिरहेको छ।”
नगरप्रमुख किशोरी साह कलवारले दुई सदस्य अनुपस्थित रहेको स्वीकार गर्दै समितिको माइन्यूटमा हस्ताक्षरको जिम्मेवारी विद्यालयका प्रधानाध्यापकलाई भएको बताए।
विद्यालयका प्रधानाध्यापक रिसभदेव ठाकुरले शिक्षा तथा युवा खेलकुद शाखाका कर्मचारी नुराजन मियाँ चुडिहारले किर्ते हस्ताक्षर गराएको खुलासा गरे। उनले भने, “नौमध्ये सात जनाको हस्ताक्षरले बहुमत पुगिसकेको थियो। नुराजनले बाँकी दुई जनाको पनि हस्ताक्षर गराइहाल्छु भन्दै माइन्यूट लगे। मैले विश्वासमा माइन्यूट दिएँ, तर पछि किर्ते हस्ताक्षर गरेको थाहा भयो।”
ठाकुरले विश्वास गरेका व्यक्तिबाटै किर्ते भएकोमा आश्चर्य व्यक्त गरे।
यसबारे नुराजनसँग बुझ्न खोज्दा उनले फोन उठाएनन् ।

