काठमाडौँ । नेपालमा अहिले १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी मुद्रा सञ्चिति रहेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आव ९ महिना (साउन-चैत) सम्म विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यो गत असार मसान्तयता १८.९ प्रतिशतले बढेको हो ।
असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति असार २०८१ सम्म १५ अर्ब २७ करोड रहेकोमा चैत मसान्तसम्म १५।४ प्रतिशतले बढेर १७ अर्ब ६३ करोड पुगेको छ ।
यो सञ्चितिले १७।१ महिनाको वस्तु र १४।२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ । चैत मसान्त २०८१ सम्म विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ उत्पादन (जीडीपी) को ३९.७ प्रतिशत हाराहारी हो ।