काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चैत १५ गतेको आन्दोलनका क्रममा तीनकुनेमा फोहोर गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई तोकेको जरिवाना तिर्न राजावादीहरूले रकम संकलन गरेका छन् । संकलित रकम राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिलाई हिजो हस्तान्तरण गरिएको छ ।
महानगर प्रमुख बालेन्द्र साहले पूर्वराजालाई जरिवानाको पत्र पठाएपछि राजसंस्था समर्थकहरू आक्रोशित बनेका थिए । उनीहरूले सो जरिवाना निर्मल निवासलाई नतिराउने भन्दै चन्दा संकलन अभियान चलाएका हुन् । समितिका संयोजक नवराज सुबेदीलाई ८ लाख ३९ हजार ४ सय रुपैयाँ बुझाइएको छ ।
महानगरले पूर्वराजालाई तीनकुने आन्दोलनमा प्रमुख जिम्मेवार ठहर्याउँदै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो । जरिवानाको पत्र बुझाउन गएका महानगर कर्मचारीहरूलाई निर्मल निवासले फर्काइदिएको थियो । त्यसपछि हुलाकबाट पत्र पठाइएको महानगरले बताएको छ । निर्मल निवासले यो विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर, राजावादीहरूले तीनकुने आन्दोलनको आयोजक दुर्गा प्रसाईँको नागरिक बचाउ महाअभियान भएकाले राजालाई जरिवाना तिराउन खोज्नु बालेनको बदनियत भएको बताउँदै आएका छन् ।
समितिलाई रकम हस्तान्तरण भए पनि महानगरले पत्र नसच्याएसम्म जरिवाना नबुझाइने भएको छ । समितिकी सदस्य रमा सिंहले महानगरलाई पत्र सच्याउन भनिएको बताइन् ।
‘राजाका नाममा पठाइएको जरिवाना पत्र फिर्ता लिएर आयोजक संस्थाका नाममा अर्को पत्र पठाइयो भने हामी तिर्न तयार छौँ । अन्यथा यो रकम संघर्ष समितिमै रहन्छ,’ उनले भनिन् ।
आफूले महानगरका जिम्मेवार व्यक्तिसँग कुरा गर्दा पत्र फिर्ता लिन आनाकानी गरिएको सिंहको भनाइ छ ।
‘उहाँहरू पत्र फिर्ता लिन तयार हुनुभएको छैन । हामी राजाका नामबाट जरिवाना तिर्दैनौँ,’ उनले थपिन् ।