काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध कारोबारको जरैसम्म पुगेर कारवाही अघि बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
बुधबार गृह मन्त्रालयमा लागुऔषध सम्बन्धी भएको छलफलमा लागुऔषधको प्रयोग र कारोबारलाई समान्य रुपमा नहेर्न आग्रह गर्दै गृहमन्त्री थापाले भने, ‘लागु औषध नियन्त्रण होइन, निषेध गर्ने गरी कार्ययोजना बनाउनुहोस् ।’
उनले लागुऔषधका कारण पारिवारिक सम्बन्ध र समाजनै भताभुंगको अवस्थामा जान लागेको भन्दै यसलाई समयमै नियन्त्रण गर्न जरुरी रहेको औँल्याए । उनले भने, ‘अहिले सुन तस्करको जालोसम्म पुगेर कारवाही अघि बढाएजस्तै अब लागुऔषध तस्करीको जालोमा पुगेर तिनीहरुलाई कारवाहीको दायरमा ल्याउनुहोस् ।’
उनले लागुऔषध नियन्त्रण सम्बन्धी जागरणमुलक र भण्डाफोर कार्यक्रम ल्याउन पनि निर्देशन दिए । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले मात्रैै यसको नियन्त्रण सम्भव नभएको भन्दै समग्र नेपाल प्रहरी, अन्य सुरक्षा निकायको पनि यसमा सक्रिय भएर लाग्न निर्देशन दिए ।
गृहमन्त्री थापाले लागुऔषधका भरिया मात्रै होइन यसको अन्तर्राष्ट्रिय कारोबारी, स्थानिय एजेण्डलाई समेत पक्राउ गर्नेगरी काम अघि बढाउन निर्देशन दिए ।
यस्तै केही दुव्र्यसनी सुधार केन्द्रले गलत कार्य गरीरहेको रिपोर्ट आएको भन्दै उनिहरुको पनि निगरानी बढाउन उनले निर्देशन दिए । बैठकमा गृह सचिव प्रेम कुमार राई, गृहमन्त्रीका सल्लाहकार सूर्यप्रकाश सुवेदी, नेपाल प्रहरीका महानिरीक्षक सवेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक ठुले राई लगायतको उपस्थिती रहेको थियो ।