कलैया (बारा) । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मुलुकमा संघीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
आज बाराको फेटा गाउँपालिकामा आयोजना गरिएको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले संघीयतालाई कमजोर पार्न देशकै ठूला पार्टीहरू लागेको आरोप लगाए ।
अध्यक्ष राउतले सरकारले दल विभाजनको अध्यादेश ल्याउन खोज्नु मधेसवादी दललाई कमजोर बनाउने खेल भएको धारणा राखे । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै संघीयतालाई मुलुकमा टिकाइ राख्न जरुरी रहेको बताउँदै उनले प्रदेशको मातहतमा प्रहरी नआएसम्म काम गर्न निकै गाह्रो हुने जिकिर गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू प्रभुनाथ पटेल, रौशन खातुन, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश साह, बारा जिल्ला अध्यक्ष शिवनाथ पटेललगायतले सम्बोधन गरेका थिए ।







