म्याग्दी । सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-१ बाँस खर्कका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । बाँसखर्क धवलागिरि क्षेत्रमा धेरै सुन्तला खेती हुने गाउँ हो ।
म्याग्दीको कालीपुलबाट बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति नहुँदा घुमाउरो र कच्ची सडकमा बढी भाडा तिरेर सुन्तला ढुवानी गर्नु परेको हो । ठूला सवारीसाधन गाउँमा पुग्न नसक्दा सुन्तला ढुवानी गर्न समस्या भएको बाँस खर्कका अगुवा किसान जगतबहादुर खत्रीले बताए ।
“साना खालका बुलेरो जिपमा थोरै थोरै सुन्तला टिपेर बेनीसम्म झार्ने र ट्रकमा राखेर देशका विभिन्न ठाउँमा पठाउँदा झन्झटका साथै श्रम र समय धेरै खर्चनुपरेको छ”, उनले भने “सडकको समस्याले सुन्तला थिचिने, मिचिने र कुहिएर नष्ट भएर किसानले क्षति व्यहोर्नुपरेको छ ।”
दश वर्षअघि स्थानीयवासीले चन्दा संकलन गरेर मार्ग खोलेको पाँच किलोमिटर दूरीको बेनी-बगरफाँट-बाँस खर्कबाहेक बाँसखर्क जोड्ने अरू दुईवटा सडक छन् । बेनी-बगरफाँट-बाँस खर्कभन्दा बेनी-मल्लाज-बाँसखर्क सडक पाँच किलोमिटर र मोहन चोक-मल्लाज–बाँसखर्क सडक १० किलोमिटर घुमाउरो छ ।
मल्लाज क्षेत्रको सडक स्तरोन्नति भए पनि बाँसखर्क प्रवेश गरेपछि साँघुरो, ग्रेड तथा मोड नमिलेको कच्ची सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्छ । बाँस खर्कका दुई सय घरपरिवारले व्यावसायिक सुन्तला खेती गरेका छन् । यो वर्ष मात्र बाँस खर्कबाट रू. १८ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको वडाध्यक्ष जगबहादुर रोकाले बताए ।
देशका अन्य ठाउँको बगैँचा निख्रिएपछि बाँस खर्कको सुन्तला टिपेर बजार पठाउने गरिन्छ । एक जना किसानले वार्षिक रू. पाँच लाखदेखि रू. ४५ लाखसम्मको सुन्तला बिक्री गर्छन् । सडक सहज हुने हो भने सुन्तलालाई सुरक्षित र सहज रूपमा बजारमा पठाउन सकिने, ढुवानीको खर्च घट्ने, यात्रा अवधि एक घण्टाबाट १५ मिनेटमा छोटिने वडाध्यक्ष रोकाले बताए ।
तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणमार्फत अघिल्लो कार्यकालमा बगरफाँट-बाँसखर्क सडक आयोजना सञ्चालन भए पनि पूर्णता नपाउँदै प्राधिकरण खारेज भएपछि संघीय सरकारको वार्षिक कार्यक्रमबाट आयोजना हटेकाले समस्या भएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।
“पुनर्निर्माण प्राधिकरण खारेज भएपछि हराएको योजना खोज्दै सडक विभागदेखि डोलिडार र प्रदेश सरकारसम्म धायौ, कतै पनि कागजात भेटिएन”, उनले भने, “नयाँ प्रक्रियाबाट सडक स्तरोन्नति गर्न संघीय र प्रदेश सरकारसँग पहल गरेका छौँ ।” पुरानो योजनामार्फत एक सय ५० मिटर सडक ढलान र केही ठाउँमा पर्खाल तथा नाली मात्र निर्माण भएको छ ।
सडकको समस्या देखाउनकै लागि गत माघ ११ गते गाउँपालिका र वडा कार्यालयले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री पद्मा अर्याल जिसी, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, राष्ट्रियसभा सदस्य मनरूपा शर्मा र प्रदेशसभा सदस्य भक्त कुँवरलाई बोलाएर बाँस खर्कमा सुन्तला महोत्सव गरेर ध्यानाकर्षण गराएका थिए ।
उक्त कार्यक्रममा आएका मुख्यमन्त्री पाण्डे, मन्त्री र सांसदहरूले बाँसखर्क जोड्ने सडकलाई स्तरोन्नति गरेर सहज रूपमा सुन्तलालगायत कृषि उपज ढुवानीको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । प्रदेश सरकारले चालु आवमा बगरफाँट-बाँसखर्क सडकका लागि रू. ३० लाख बजेट विनियोजन गरेको छ । संघीय सरकारको बेनी–जोमसोम–कोरला सडक योजनामार्फत गत वर्ष बेनी नगरपालिका-८ काली पुल र जलजला गाउँपालिकाको बगर फाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा ४५ मिटर लामो बेलिब्रिज जडान भएको थियो ।







