काठमाडौँ । सर्वोच्च अदालतले कैलाली-२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी सांसद पदका लागि योग्य छन् कि अयोग्य भन्नेबारेमा बुधबार पनि सर्वोच्च अदालतले फैसला सुनाउन सकेन ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र डा. मनोजकुमार शर्माको इजलासले चौधरीविरुद्धको रिट निवेदनमा निर्णय सुनाउने मिति फेरि सारेको हो ।
चौधरीको योग्यतामाथि प्रश्न उठाई दायर रिट निवेदनमाथिको सुनुवाइपछि संवैधानिक इजलासले १७ पुसमा मुद्दाको निर्णय सुनाउने मिति तोकेको थियो । मिति सारेर २४ पुसमा तोकिएकोमा आज पनि फैसला हुन नसकेको हो ।
अर्को मिति तोकिएको छैन । अधिवक्ता बसन्त जोशीले उनी प्रतिनिधि सभा सदस्य बन्न योग्य नभएको भन्दै उनलाई निर्वाचित गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गरेर फेरि निर्वाचन गराउनुपर्ने माग राखेका थिए । कुनै संघीय सांसदको योग्यताको विषयमा प्रश्न उठेमा सर्वोच्च अदालतको संवैधानिक इजलासले त्यसको टुंगो लगाउने छ ।