काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले हालै सम्पन्न उपनिर्वाचनको परिणामले आफ्नो दलको पक्षमा जनमत बढेको पुष्टि भएको बताएका छन् ।
पार्टीको गंगादेव गाउँपालिका रोल्पाको अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै पुनले फरक विचार, नीति र जनताको प्रवृत्ति बोक्ने दलका रूपमा आफूहरूलाई जनमतले अनुमोदन गरेको बताए ।
काँग्रेस र एमालेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै फैलाएको गलत अफवाहलाई जनताले खारेज गरेको उनको भनाइ थियो ।
‘हामी कसैले कसैसँग तालमेल नगरी एक्लै चुनावमा जान सक्दैनौँ भन्ने गलत भाष्य स्थापित गर्ने कोसिस भएको थियो’, पुनले भने, ‘कहिले एमालेले र कहिले काँग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई हामीले खारेज गरेका छौँ । उपचुनावको परिणामबाट जनताले त्यसको जवाफ दिएका छन् । हामीले आफ्नो जनमत देखाएका छौँ ।’
विगतका केही निर्वाचनमा तालमेल गर्दा काँग्रेस र एमालेले आफूहरूको मत लिएको तर आफूहरूलाई मत नदिएको पनि यो निर्वाचनले पुष्टि गरेको उनले बताए ।
उपमहासचिव पुनले काँग्रेस र एमालेको जनमत घटेको र आफूहरूको बढेको दाबी गरे । जितेका ११ ठाउँबाहेकमा पनि धेरै स्थानमा आफ्नो दल दोस्रो भएकाले त्यो पुष्टि हुने तर्क पुनको थियो ।
निर्वाचन परिणामले वर्तमान व्यवस्थालाई बहुदलीयबाट दुई दलीय व्यवस्थामा लैजाने र पालौपालो जनतालाई शासन गर्ने काँग्रेस-एमाले महत्वाकांक्षामा धक्का लागेको उनले बताए । ‘अब त्यो सम्भव छैन । बहुदलीय प्रतिस्पर्धा हुन्छ । माओवादीलाई माइनस गरेर जान तपाईँहरूले सक्नुहुन्न’, पुनले भने ।