काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले पुस ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोसाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सघाउने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न परिषद्लाई भनेका थिए। लगत्तै परिषद्ले पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोसाक अनिवार्य गर्ने निर्णय गरेको हो।
परिषद्ले आगामी पुस ४ गतेबाट लागू हुने गरी गत मंसिर ४ गते फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोनसहितको पोसाक र परिचय अनिवार्य गर्ने निर्णय गरेको थियो।
कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि वितरणमा कार्यरत रहेका फर्मासिष्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय पुस ४ गतेबाट लागू हुँदैछ।
यस्तो निर्णयले औषधी बिक्री वितरणमा आधिकारिक व्यक्ति मात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषद्को विश्वास छ ।
मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सघाउने प्रतिबद्धता जनाए। औषधीको बिक्री वितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधी व्यवस्था विभागलाईसमेत अनुगमन बढाउन सजग गराएका छन्।







